यौनशोषण गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
आफ्नी नातिनी उमेरकी विद्यार्थीलाई नै यौनशोषण गर्न पल्केका विद्यालयका अगुवा मानिने प्रधानाध्यापकले नै रातभर बालिकालाई बलात्कार गरेको घटना उजागर भएपछि प्रहरीले पक्राउ गरेको छ।
सिरहाको लहान नगरपालिका १८ भदैयास्थित राजाजी बाबा आधारभूत विद्यालयका प्रधानाध्यापक वैद्यनाथ चौधरीलाई लहान प्रहरीले सोमबार राति घरबाट नै पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेले प्रधानाध्यापक चौधरीविरुद्ध पीडित परिवारको तर्फबाट किटानी जाहेरी परेकाले कानुनअनुसार कारबाही हुने जानकारी दिए। पीडित बालिकाको सोमबार नै लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। प्र.अ.चौधरीको कर्तुत आफैं कार्यरत रहेको विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकालाई प्र.अ. चौधरी बेलाबखत घरयासी कामकाज गर्न बोलाएर यौन शोषण गर्न पल्केको स्थानीय गाउँलेहरु बताउँछन्। बेला बेलामा कामका लागि घरमै बोलाउने गरेका चौधरीले आइतबार राति पनि बालिकालाई मोबाइलमा फोन गरेर ‘औषधि ल्याइदिएको छु, लिन आउनु’ भन्दै बोलाएको पीडित बालिकाले बताइन्। पीडित बालिकाका अनुसार चौधरीले औषधि लिन पकडियागढमा बोलाएपछि उनी घरमा कसैलाई नभनी औषधि लिन निस्किएकी थिइन्। औषधि दिने बहानामा बोलाइएकी बालिकालाई उनले पकडियागढमा आइतबार राति पटक-पटक बलात्कार गरेपछि घर फर्किएका थिए भने बालिकाको बिहान ८ बजेतिर मात्र होस खुलेपछि घर आएकी गाउँलेहरुले बताए।
Post a Comment