Halloween party ideas 2015



आसन्न स्थानीय तहको निर्वाचनमा नेतृत्वमा सम्भाल्ने जनप्रतिनिधिका लागि झापाका गाउँपालिका तथा नगरपालिकामा कार्यकक्ष तयार गर्न लागिएको छ ।

जिल्लाका आठ नगरपालिका तथा सात गाउँपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष तथा अन्य कार्यसमितिका पदाधिकारीका लागि कार्यकक्ष तयार गर्न लागिएको सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका कर्मचारीले जनाएका छन् । 
भद्रपुर नगरपालिकाका इन्जिनियर योगेन्द्र श्रेष्ठले नगरपालिकामा प्रमुख–उपप्रमुखको कक्ष पहिलेदेखि नै रहेकाले रङ्रोगन र व्यवस्थापनको काम भइरहेको बताए । मन्त्रालयबाट वडा कार्यालयसहितको व्यवस्थापनका लागि ३२ लाख रुपैयाँ बजेट आएको छ भन्दै उनले भने – “द्रुत गतिमा काम भइरहेको छ ।” अर्जुनधारा नगरपालिकाका अधिकृत राधाकृष्ण खतिवडाले वातानुकूलित, सिसी क्यामेरासहितको सुविधासम्पन्न कार्यकक्ष निर्माणको काम धमाधम भइरहेको बताए। उनले भने “प्रमुख–उपप्रमुखसहित अन्य जनप्रतिनिधिका लागि बस्ने ठाउँको व्यवस्था भइरहेको छ ।” 

कनकाई नगरपालिकाका अधिकृत खगेन्द्र गिरीले जनप्रतिनिधिका लागि सुविधा सम्पन्न कार्यकक्ष निर्माण भइरहेको बताए। उनले सरकारले तोकेका मापदण्डअनुरुपको कार्यकक्ष निर्माण स्थानीय तहको निर्वाचनअगावै सम्पन्न हुने जानकारी दिए। 
“काम सुरु गरेका छौँ, चाँडै सकिन्छ”, बिर्तामोड नगरपालिकाका अधिकृत खड्गबहादुर कार्कीले कार्यकक्षको व्यवस्थापनबारे जानकारी दिँदै भने, “निर्वाचित जनप्रतिनिधि आउनुअगावै काम सक्छौँ ।” 

गौरादह गाउँपालिकामा पनि अध्यक्ष/उपाध्यक्षसहितको जनप्रतिनिधिको कार्यालय व्यवस्थापनको काम धमाधम भइरहेको कार्यालय प्रमुख रवीन्द्र वस्तीले बताए।  नौवटा वडा रहेको गौरादहमा पाँचवटा वडा कार्यालय भए पनि चारवटा अपुग भएकाले भाडामा लिएर काम अघि बढाइएको उनले जानकारी दिए।
त्यस्तै, मेचीनगर नगरपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका, कमल, कचनवकल, बाह्रदशी, बुद्धशान्ति, झापा र हल्दिबारी गाउँपालिकामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोके बमोजिमको ढाँचामा कार्यकक्ष निर्माण भइरहेको छ । रासस 

Post a Comment

Powered by Blogger.