Halloween party ideas 2015

लागत मूल्य नपाउँदा किसान निराश



चितवन, । लागत मूल्य पाउन नसकेपछि यहाँका दुग्ध उत्पादक किसान निराश बनेका छन् । लागत अनुसारको बजार मूल्य नपाएपछि यहाँका कतिपय किसान विस्थापित भएका छन् भने केहीले लगानी घटाउँदै गएका छन् । पशुलाई खुवाउने दाना, चोकर, ढुटो, पराल, घाँसको मूल्य बढ्दै जाँदा दूधको मूल्यमा लागतअनुसार वृद्धि हुन सकेको छैन । सरकारी अनुदान नाम मात्रको रहेको छ । पश्चिम चितवनको चनौलीका कृषक कुलानन्द अधिकारीले ४५ वटा गाई पालेका छन् । दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आउनुभएका अधिकारी खर्च धान्न मुस्किल भएको बताए । कामदार पाउन नसकेपछि घरका सबै सदस्य मिलेर गाईको हेरचाह गर्दैआएका छन् । “गाईको सङ्ख्या घटाउँदै लगेको छु, यस्तै अवस्था रहे पेसा छाड्नुको विकल्प छैन,” उनले भने । यसैगरी जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको तीन कार्यकाल अध्यक्ष रहिसकेका शङ्करराज राजभण्डारीले सुरुवातमा ५२ वटा गाई पालेका थिए । उनले दैनिक ३०० लिटरसम्म दूध बिक्री गर्थे । अहिले उनले १६ वटा गाई पालेका छन् । दैनिक ७५ देखि ८० लिटरसम्म दूध बिक्री गर्ने गरेको उनि बताउछन् । “गाईभैँसी पाल्नेहरु विस्थापित हुँदै गएका छन्,” उनले भने । खर्च धान्न मुस्किल परेकाले कतिपय किसानले पेसा छोड्दै गएका राजभण्डारीको भनाइ छ । किसानलाई खर्च धान्न मुस्किल र उपभोक्तालाई खरिद गरेर खान महँगो परिरहेको बताउँदै उहाँले बिचौलियाकै कारण उत्पादन गर्ने र उपभोग गर्ने मर्कामा परेको बताउछन् । दुग्ध उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष हरिहर सुवेदी पहिलेको तुलनामा दैनिक दूध उत्पादनमा २५ देखि ३० हजार लिटर घटेको बताउछन् । लागत मूल्य बढ्दै जाँदा दूधको मूल्य नबढेपछि किसानमा उत्साह नरहेको उनले बताए । विसं २०७१ पुसमा दूधको मूल्य वृद्धि गरिएको थियो । कृषकले प्रतिलिटर दूधको मूल्य ४० रुपैयाँ पाउने गर्छन् । तर बजारमा ६० रुपैयाँमा बिक्री भइरहेको छ । त्यही दूधबाट घ्यू उत्पादन गरी व्यवसायीले थप नाफा कमाउने गरेका छन् । कृषकले लागत मूल्य पाउनका लागि प्रतिलिटर ५० रुपैयाँमा दूध बेच्नुपर्ने सुवेदीको भनाइ छ । चवालीस किलोको बोराको चोक्करको मूल्य एक हजार १०० रुपैयाँ पर्छ भने दानाको प्रतिकिलो २८ रुपैयाँ देखि ४० रुपैयाँ तथा ढुटोको मूल्य २८ रुपैयाँ देखि ३० रुपैयाँसम्म पर्छ । कामदार पाउन मुस्किल हुन्छ । परालको मूल्य र घाँस उत्पादनको लागत निकै बढेको किसान बताउँछन् । जिल्लामा १४० वटा दुग्ध उत्पादक सहकारी संस्थाले दूध सङ्कलन गरेर स्थानीय बजार र बाहिरी जिल्लामा पठाउने गर्छन् । कतिपय कृषकले आफैँले सोझै बजारमा पठाउने गरेका छन् । सङ्घका उपाध्यक्ष बालकृष्ण उप्रेतीका अनुसार जिल्लामा दैनिक करिब तीन लाख ६५ हजार लिटर दूध उत्पादन हुन्छ । काठमाडौँ, पोखरा, वीरगन्जलगायत सहरमा दैनिक एक लाख ५० हजार लिटर दूध बिक्री हुन्छ । दैनिक दुई लाख १० हजार लिटर दूध, दुग्ध किसान र स्थानीय बजारमा खपत हुने गरेको उप्रेतीले बताए । जिल्लामा करिब ४८ हजार कृषक दुग्ध उत्पानमा आबद्ध भएका अनुमान छ । करिब ३६० जनाले व्यावसायिक रुपमा गाईभैँसी पालेका उप्रेती बताउछन् । “बिचौलियाका कारण कृषकले मूल्य नपाउँदा विस्थापित हुने अवस्था छ,” उनले भने । सहकारीले आफैँ उद्योग बनाएर प्रशोधन नगरेसम्म किसानले लाभ पाउन नसक्ने उप्रेतीको भनाइ छ । पछिल्लो समय सरकारले दुग्ध उत्पादक कृषकलाई गोठ सुधारका लागि सहयोग गर्दै आएको छ भने घाँसको बीउ र डाले घाँसको बिरुवा पनि वितरण गर्दै आएको छ । प्रतिलिटर एक रुपैयाँ अनुदान समेत यस वर्षबाट सुरु गरेको छ । यद्यपि सो रकम पर्याप्त हुन नसकेको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढार्इं बताउछन् । ‘दूध क्षेत्रको प्रवद्र्धन आर्थिक र सामाजिक रुपान्तरण’ नाराका साथ आज विभिन्न कार्यक्रमसहित दूध दिवस मनाइँदैछ ।

Post a Comment

Powered by Blogger.