दोस्रो चरणमा हुने स्थानिय तहको निर्वाचनका लागि झापामा मतदाता शिक्षा कार्यक्रम जेठ ५ गते शुक्रबारबाट अगाडि बढाइने भएको छ । सुरक्षा तथा जनशक्तिको ब्यवस्थापकीय दृष्टिकोणले झापामा चुनावको तयारी पुरा भएको अवस्थामा मतदाता शिक्षा सञ्चालनका लागि स्वयम्सेवक परिचालन गरिएको थियो । तर, निर्वाचन दोस्रो चरणमा हुने भएपछि स्थगन गरिएको मतदाता शिक्षा कार्यक्रम शुक्रबारदेखि अगाडि बढाउने जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिनुभयो ।
निर्वाचनका लागि १४ सय जनालाई मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षण दिइने योजना रहेको उहाँले बताउनुभयो । ८ नगरपालिका र ७ गाउँपालिका गरि १५स्थानीय तह रहेको झापामा ५ लाख १० हजार र २१६ मतदाता रहेका छन् । झापामा २८३ मतदानस्थल र ६३७ मतदान केन्द्र रहने छन् । ती स्थानमा चाहिने जनशक्ति र सुरक्षाकर्मीका लागि आवश्यक सबै प्रबन्ध मिलाइसकिएको सुरक्षा निकायले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले पनि निर्वाचन आयोगको निर्देशन बमोजिम जनशक्ति तयार गरिएको बताएको छ ।
यस्तै, झापा सुरक्षाका दृष्टिले केही संवेदनशील रहे पनि चुनौति भने खासै नरहेको जिल्ला प्रहरी प्रमुख शैलेश थापाले बताउनुभयो । नेपाल–भारत खुला सीमा क्षेत्र सुरक्षाका हिसाबले चुनौतिका रुपमा रहेको छ । तर, सीमा क्षेत्रमा पनि निर्वाचन नजिकिएसँगै निगरानी बढाउन थालिएको प्रहरी प्रमुख थापाले उल्लेख गर्नुभयो
झापाको ११८ किलोमिटर क्षेत्रफलमा खुल्ला सिमाना पर्दछ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको प्रयोग कसरी गर्ने भन्ने विषयमा पनि तयारी भइसकेको थापाको भनाइ रहेको छ ।
Post a Comment