Halloween party ideas 2015


नर्सहरूको पेसा बाहिरबाट जति ग्ल्यामरस देखिन्छ, भित्र त्यत्तिकै पीडादायी छ । लाखौँ खर्च गरेर पढेका नर्सहरूको चरम श्रमशोषण भइरहेको छ । सुरुमा जागिर पाउन कठिन छ, पाए पनि जीवन धान्नै नसक्ने तलब हुन्छ । नर्सहरूको उत्पादन धेरै र माग कम हुँदा हजारौँ नर्सको श्रमशोषण हुने गरेको छ । जसको प्रभाव उनीहरूले दिने स्वास्थ्य सेवामा समेत परिरहेको छ । सरला कट्टेलको रिपोर्ट :
नेपाली समाजमा छोरीलाई नर्स बनाउने धेरै अभिभावकको चाहना हुन्छ । नर्सिङ पेसामा ठूलो आकर्षण छ । तर, बाहिरबाट हेर्दा यो पेसा जति राम्रो देखिन्छ, यसभित्रका पीडाहरू त्यति नै दर्दनाक छन् । खर्चका हिसाबले पनि नर्सिङ पढ्न निकै महँगो छ । ५ देखि ८ लाख नर्सिङ र १५ लाख रुपैयाँसम्म बिएस्सी नर्सिङ पढ्न खर्च लाग्छ । तर, जति आशा गरेर अभिभावकले छोराछोरीलाई नर्सिङ पढाउँछन् त्यो आशाको परिणाम सोचेजस्तो हुँदैन ।
५ वर्षअघि नर्सिङ सकेकी कञ्चनपुरकी गंगा चौधरीले स्वास्थ्य संस्थामा काम गरेको ४ वर्ष भयो । उनको मासिक तलब अहिले ५ हजार रुपैयाँ छ । चौधरीले कञ्चनपुरकै अस्पतालमा ८ महिना भोलेन्टियर्स गरिन् । उनी त एक उदाहरण मात्र हुन् । काम नगरे आफूमा भएको सीप बिर्सने, काम गरे पकेट खर्च नपुग्ने अवस्था नर्सहरूको छ । उनी भन्छिन्, ‘लाखौँ खर्च गरेर नर्सिङ पढियो । अहिले आफूलाई आवश्यक पर्ने खर्च पुर्‍याउन अरूको भर पर्नुपर्ने बाध्यता छ ।’

सरकारी अस्पतालमा २० हजार नर्सको कोटा छ, त्यसमा १० हजार मात्र काम गरिरहेका छन् । नर्स प्यासेन्ट रेसियोअनुसार अस्पताल, स्कुल–कलेजमा राख्ने हो भने नेपालका ७२ हजार नर्सले जागिर पाउँछन् ।
त्यस्तै, विराटनगरमा काम गर्दै आएकी दीपा श्रेष्ठको पनि मासिक ८ हजार रुपैयाँ पारिश्रमिक छ । श्रेष्ठले बिएस्सी नर्सिङ सकेकी छिन् । श्रेष्ठ अब विदेश जाने सोचमा छिन् । उनले भनिन्, ‘विदेशमा नर्सहरूका लागि अत्यन्तै राम्रो अवसर छ । १ हप्ता कमाउँदा १५ दिन मज्जाले खान पुग्छ । नेपालमा दिनको १२ घन्टा काम गर्दा पकेट खर्च पनि पुग्दैन । कति दिन खालीपेट काम गर्न सकिन्छ र ?’ सरकारले न्यूनतम पारिश्रमिक तोकेर अस्पतालमा नर्स प्यासेन्ट रेसियो राख्यो भने पनि नर्सहरू विदेश पलायन नहुने श्रेष्ठको तर्क छ ।
कैलाली टीकापुरकी उर्मिला चौधरीलाई त्यहाँको सरकारी स्वास्थ्य संस्थाले ६ महिनाको भोलेन्टियर्सपछि कामबाटै निकालिदियो । स्वास्थ्य चौकीका कर्मचारीले केही समय भोलेन्टियर्स गर्नुपर्ने बताएपछि उनले जागिर पाउने आशामा भोलेन्टियर्स गरिन् । ६ महिनापश्चात् जब उर्मिलाले पारिश्रमिक मागिन्, काम गर्न नसकेको भन्दै उनलाई अस्पतालबाटै निकालियो । उर्मिलाले न्यायका लागि लड्ने ठाउँ कतै भेटिनन् । सरकारी अस्पतालले अस्पताललाई कमाउने भाँडो बनाउन थालेको उर्मिलाको आरोप छ ।

बिएस्सी नर्सिङ गरेकी काठमाडौं बस्ने प्रीति पोखरेलले राजधानीको पुरानो बानेश्वरमा रहेको एक अस्पतालमा १० हजारमा काम गरिरहेकी छिन् । बिएस्सी नर्सिङ गर्न कम्तीमा १५ लाखको हाराहारीमा खर्च हुन्छ । पोखरेल भन्छिन्, ‘मैले ४ हजार पारिश्रमिक लिएर काम सुरु गरेको अहिले १० हजार पुगेको छ । सरकारले निजी अस्पतालको

नियमन नगर्दा र दरबन्दी खाली भएको अस्पतालले पनि दरबन्दी नखुलाउँदा नर्सहरू बेरोजगार भइरहेका छन् ।’
गंगा, दीपा, प्रीति र उर्मिलाको जस्तै नेपालमा नर्सिङ पढ्ने धेरै नर्सको पीडा उस्तै छ । नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेलका अनुसार नर्सले आफ्नै समस्या र चुनौती हुँदाहुँदै पनि अस्पतालमा बिरामीको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । तर, उनीहरूको समस्या समाधानका लागि कसैले चासो दिएका छैनन् ।

१ नर्सको भागमा ५० बिरामी
—विश्व स्वास्थ्य संगठनले जनरल वार्डमा १ नर्सले ४ देखि ६ जना बिरामी, सुत्केरी वार्डमा २ नर्स १ बेड, आइसियू, सिसियूमा १ नर्स १ बिरामी, पोस्ट अपरेटिभ वार्डमा १ नर्स १ बिरामी, अपरेसन थिएटरमा १ टेबल ३ नर्स हुनुपर्ने मापदण्ड बनाएको छ । नेपाल सरकारले पनि डब्लुएचओको मापदण्डमा हस्ताक्षर गरेको छ । तर, त्यसको कार्यान्वयनमा सरकारले कुनै चासो दिएको छैन । अहिले सरकारी अस्पतालमा १ नर्सले ४० देखि ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।
—तारा पोखरेलका अनुसार सरकारले नर्स र बिरामीको अनुपात कार्यान्वयनमा ल्याउने हो भने अहिलेका निजी तथा सरकारी अस्पतालले उत्पादन गरिरहेका नर्स अस्पतालमा खपत हुन्छन् । सरकारी अस्पतालमा २० हजार नर्सको कोटा छ, त्यसमा १० हजार मात्र काम गरिरहेका छन् ।
—बाहिरको प्राक्टिस हेर्ने हो भने स्कुल, कलेज, फ्याट्री सबैतिर नर्स राखिएको हुन्छ । नर्स–प्यासेन्ट रेसियोअनुसार अस्पताल, स्कुल–कलेजमा राख्ने हो भने नेपालका ७२ हजार नर्सले जागिर पाउँछन् । सरकारले अस्पतालको गुणस्तरमा ध्यान नदिँदा नर्सहरू त्यसको मारमा परेका छन् । नर्सहरूको अधिकारको क्षेत्रमा काम गर्ने संस्था एन्टी करप्सन मुभमेन्टका संयोजक पारुल क्षेत्रीले सरकारले नर्सहरूको श्रमशोषण गर्नेलाई प्रश्रय दिएर राखेको आरोप लगाए ।

वर्षमा ८ हजार नर्स उत्पादन
नेपाल नर्सिङ काउन्सिलमा हालसम्म दर्ता हुने नर्सको संख्या ७१ हजार ५ सय ५७ रहेको छ । जसमा एएनएम पढ्ने नर्सको संख्या २७ हजार ५ सय ८९, नर्सहरू ४३ हजार १ सय ३९, विदेशी नर्सको संख्या ८ सय २९ रहेको छ । करिब ३ सय नर्सिङ कलेजबाट वार्षिक ८ हजारको संख्यामा नर्सहरू उत्पादन हुन्छन् । नेपालमा त्रिभुवन युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी, काठमाडौं युनिभर्सिटी, बिपिकेएच धरानबाट विद्यार्थी उत्पादन हुन्छन् । एएनएममा ५०, स्टाफ नर्स १ सय १९, बिएस्सी नर्सिङमा ४५, ब्याचलर अफ नर्सिङ, मास्टर्स अफ नर्सिङ गरेर ३ सय नर्सिङ कलेजबाट विद्यार्थी उत्पादन भइरहेका छन् ।
काउन्सिलमा दर्ता भएका नर्स कोही कामबाट बिदा भए भने कोही विदेश पलायन भएका छन् । कोही नर्स निजी अस्पतालमा विनापैसा काम गर्न बाध्य छन्, अत्यन्तै कम पारिश्रमिकमा काम गरिरहेकाहरू पनि उत्तिकै छन् । नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेलका अनुसार १० हजार नर्स सरकारी अस्पतालमा काम गरिरहेका छन् । करिब २५ हजार नर्स निजी स्वास्थ्य संस्थामा काम गरिरहेका छन् । तीबाहेकका नर्सहरू कोही कम पारिश्रमिकमा काम गरिरहेका छन् भने कोही विदेश पुगेका छन् । पोखरेलले सरकारले निजी स्वास्थ्य संस्थालाई मनोमानी गर्न दिएर नर्सहरू श्रमशोषणमा परेको आरोप लगाइन् । स्वास्थ्यमा राजनीति हुँदा त्यसको मारमा नर्सहरू परेको उनले बताइन् ।

नर्सको गन्तव्य विदेश
विदेशमा नर्सहरूको डिमान्ड धेरै हुन्छ । डाक्टर पढेर जानेले भन्दा नर्स पढेर जानेले विदेशमा राम्रो काम र पैसा कमाउने हुनाले नर्सहरू विदेश जाने गरेको नेपाल नर्सिङ संघका अध्यक्ष तारा पोखरेलले बताइन् । यसरी अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतलगायतका देश नर्सको प्रमुख गन्तव्य बन्ने गरेको छ । नेपालबाट बिडिएस, एमबिबिएस, इन्जिनियरिङ, इकोनोमिक्स पढेर विदेश जानेकोभन्दा नर्सिङ पढेर जानेलाई विदेशमा राम्रो अवसर छ । नर्सिङ पढेर विदेश जानेले त्यहाँ गएर नर्सिङको लाइसेन्स लिएर नर्सिङकै काम गर्न पाउँछन्, तर अरू पढेर जानेले बिरामीको केयर गर्ने, बिरामी सार्ने, डुलाउने, औषधि दिने, इन्जेक्सन मिलाउने काम गर्छन् । विदेशमा बस्ने नेपालीले नेपाली नर्स विवाह गर्न रुचाउँछन् । नर्सिङ गरेकाले सजिलै काम पाउने भएकाले विदेशमा बस्ने युवाले नेपाली नर्स विवाह गर्ने गर्दछन् । विदेशमा नेपाली नर्सले कम्तीमा मासिक २ देखि ५–७ लाख रुपैयाँसम्म कमाउने गर्छन् । त्रिवि शिक्षण अस्पतालकी पूर्वक्याम्पसप्रमुखसमेत रहेकी पोखरेलले महिनामा औसतमा ४ जनासम्म पढाइ छाडेर विदेश पलायन हुने गरेको बताइन् ।

राजधानीका चर्चित अस्पतालले नर्सलाई दिँदै आएको पारिश्रमिक
वीर अस्पतालले अनमीलाई मासिक २२ हजार १, पाँचौँ तहका स्टाफ नर्सलाई २३ हजार ५००, छैटौँ तहका स्टाफ नर्सलाई ३०,५००, नर्सिङ अधिकृत वा नर्सिङमा ब्याचलर गरेकोलाई ४० हजार १५०, नर्सिङ प्रशासन नवौँ तह ४०,१५० र नर्सिङ प्रमुखलाई ४२,८,८० तलब दिने गरेको छ । पाटन विज्ञान प्रतिष्ठान पाटन अस्पतालले पाँचौँ तहका स्टाफ नर्सलाई २५,९६९, नर्सिङ अधिकृतलाई ३३ हजार २ सय ७, नर्सिङ प्रशासकलाई ४३ हजार ६ सय ५५ रुपैयाँ दिँदै आएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनमीलाई १६ हजार ८ सय, स्टाफ नर्स पाँचौँ तह २२ हजार ९००, स्टाफ नर्स छैटौँ तह २६ हजार ४००, नर्सिङ अधिकृत २८ हजार ८००, नर्सिङ प्रशासन पाँचौँ तह ३२ हजार ३०० र नर्सिङ प्रमुखलाई ५५ हजार ६०० रुपैयाँ दिँदै आएको छ ।
काठमाडौं मोडल कलेज अस्पतालले स्टाफ नर्स पाँचौँ तहलाई १३ हजार, नर्सिङ अधिकृत सातौँ तहलाई १७ हजार, नर्सिङ प्रशासन नवौँ तहलाई २० हजार ५०० र नर्सिङ प्रमुखलाई ३० हजार रुपैयाँ दिँदै आएको छ । बी एन्ड बी अस्पतालले नर्सिङ पाँचौँ तहलाई १३ हजार १ सय, स्टाफ नर्स छैटौँ तहलाई १५ हजार ६ सय, अधिकृत सातौँ तहलाई २३ हजार, नर्सिङ प्रशासनिक नवौँ तहलाई ३० हजार र नर्सिङ प्रमुखलाई ५१ हजार दिँदै आएको छ । नर्भिक अस्पतालले अनमीलाई १० हजार ६ सय ५०, नर्सिङ पाँचौँ तहलाई १० हजार ६ सय ५० र स्टाफ नर्स छैटौँ तहलाई ११ हजार ८५, नर्सिङ अधिकृत सातौँ तहलाई २३ हजार, नर्सिङ प्रमुखलाई १ लाख रुपैयाँ दिँदै आएको छ । त्यस्तै ग्रान्डी इन्टरनेसनल अस्पतालले स्टाफ नर्स पाँचौँ तहलाई १६ हजार, नर्सिङ अधिकृत सातौँ तहलाई ४० हजार, नर्सिङ प्रशासक नवौँ तहलाई ७५ हजार, नर्सिङ प्रमुखलाई १ लाख ५१ हजार रुपैयाँ दिँदै आएको छ ।

(नर्सिङ सुधार समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा आधारित)

नर्सको समस्या समाधानका लागि समिति

स्वास्थ्य मन्त्रालयले नर्सिङ पेसा सुधारका लागि नर्सिङ सुधार समिति गठन गरेको छ । तीन महिनाअघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले नर्सका विद्यमान अवस्थाबारे सुधार गर्न वीर अस्पतालकी प्रा. डाक्टर गोमादेवी निरौलाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका थिए । समितिले प्रतिवेदनमार्फत सरकारलाई विशेष आरक्षण छात्रवृत्तिमा पठाएका नर्सलाई पनि स्थानीय तहमा व्यवस्थापन गर्नुपर्ने सुझाब दिएको छ । हालसम्म कति नर्स सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत छन् भन्ने यकिन तथ्यांक मन्त्रालयसँग पनि छैन । प्रतिवेदनमा अस्पतालले नर्सलाई रोजगारी दिँदा नियुक्तिपत्र दिने, अन्तर्राष्ट्रिय श्रम संगठनले तोकेको तलब–सुविधा दिनुपर्ने र आवश्यकताअनुसार नर्सको दरबन्दी सिर्जना गरी पदपूर्ति गर्नुपर्नेलगायत सुझाब पनि दिइएको छ । निरौलाले आफूहरूले सरकारलाई प्रतिवेदन बुझाएको र स्वास्थ्यमन्त्रीले यसलाई सकारात्मक रूपमा लिएकाले नर्सहरूको समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

समितिले बुझाएका सुझाब

—२०५० सालमा विघटन भएको नर्सिङ महासंघको पुनस्र्थापना हुनुपर्ने (नर्सिङ महासंघले नर्सहरूको सरुवा, बढुवा, लोकसेवाको काम, कर्मचारीको व्यवस्थापन गर्नुपर्ने)

—एमबिबिएस पढ्नेले आठौँ तहमा भिड्न पाउँछ, तर बिएन र बिएस्सी नर्सले सातौँ तहमा लड्न पाउने भएकाले यो विभेदको अन्त्य गरी नर्सिङमा ब्याचलर गरेकाले आठौँ तहमा लड्न पाउनुपर्ने ।

—वर्षौँदेखि निजी अस्पतालले भोलेन्टियर्स नर्स राखेकाले त्यसको अन्त्य गरी कम्तीमा सरकारी नर्ससरह पारिश्रमिक पाउनुपर्ने ।

—नर्स–प्यासेन्ट रेसियोको मापदण्ड लागू हुनुपर्ने, नर्सहरूको पदपूर्ति हुनुपर्ने ।

—अधिकारसम्पन्न नर्सिङ महाशाखाको पुनस्र्थापना गर्नुपर्ने, नर्सिङ महाशाखाको प्रमुख महिला हुनुपर्ने ।

—नेपाल नर्सिङ परिषद् ऐन २०५२ को संशोधन र परिषद्को पुनर्संरचना हुनुपर्ने ।

—देशमा नर्सिङ जनशक्तिको सुधारका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरी जवाफदेही हुनुपर्ने ।

—नर्सिङ शिक्षाको गुणस्तरमा आवश्यक सुधार गर्ने ।

—स्वास्थ्य र शिक्षा मन्त्रालयबीच समन्वय गर्ने ।

—एमबिबिएस, बिडिएसमा तोकिएजस्तो भर्नाशुल्क नर्सिङ पढ्नका लागि तोकिनुपर्ने ।

—उत्पादित जनशक्तिको गुणस्तर र दक्षताको सुनिश्चितता हुनुपर्ने ।

—राष्ट्रिय नर्सिङ, मिडवाइफ्री विकास रणनीति निर्देशन तर्जुमा गर्ने ।

—गाउँपालिकामा हुने हेल्थपोस्टमा २५ महिना एचए पढेकोले मात्र प्रमुख हुन पाउने भन्ने छ, त्यसैले ३ वर्ष स्टाफ नर्स पढेकाले पनि हेल्थपोस्टको प्रमुख हुने व्यवस्था गरी लैंगिक विभेदको अन्त्य हुनुपर्ने ।

—३ महिना मातृशिशु कार्यकर्ताको तालिम लिएका माशिका र एएनएमलाई एउटै दर्जामा राखिएकाले त्यो विभेदको अन्त्य हुनुपर्ने ।

—सरकारी अस्पतालमा एमडी पढ्नका लागि निःशुल्क गरेको छ, त्यसैले नर्सिङमा मास्टर्स गर्नका लागि सरकारी अस्पतालमा निःशुल्क हुनुपर्ने ।

—नर्सिङ र मिडवाइफ्री जनशक्तिहरू जुन विषयमा विशेषज्ञता हासिल गरेका छन्, सोही क्षेत्रमा काम गर्ने र गराउने व्यवस्था मिलाउने । योग्यता र ज्येष्ठताको आधारमा जिम्मेवारी बाँडफाँड गर्ने । नर्सिङ सदस्यको व्यवस्थापन गर्ने ।

—नर्सिङ व्यवसायीको समावेशीकरण र अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने ।

—नर्सिङको उच्च शिक्षा तथा छात्रवृत्तिका लागि पहल गर्ने ।

—नर्सिङको कार्यक्षेत्र तथा नर्सिङ सेवाको विस्तार गर्ने ।

—बाहिरी मुलुकमा नर्सिङ विषयमा उच्च शिक्षा हासिल गर्न जाँदा हाल शिक्षा मन्त्रालयबाट मात्र नो अब्जेक्सन लेटर लिइरहेकाले नेपाल नर्सिङ परिषद्बाट अनुमति पाएकालाई मात्र नो अब्जेक्सन लेटर उपलब्ध गराइनुपर्ने ।

—स्कुल, क्याम्पस, उद्योग, कलकारखाना, गाउँपालिका, नगरपालिका, होटेल आदिमा नर्स राखिनुपर्नेजस्ता ३६बुँदे सुझाबसहितको प्रतिवेदन नर्सिङ सुधार समितिले स्वास्थ्यमन्त्रीलाई बुझाएको छ ।

नर्स भन्छन् : जागिर निल्नु न ओकल्नु

निशा खनाल स्टाफ नर्स

मैले विराटनगरको न्युरो अस्पतालमा ६ महिना भोलेन्टियर्स गरेँ । अस्पताल प्रशासनसँग केही समय काम हेर्ने र केही समयपछि पारिश्रमिक दिने सम्झौता भएपछि काम गरेँ । ६ महिना काम गरेपछि अस्पतालसँग पारिश्रमिक माग्दा अस्पतालले केही समय पर्खनुहोस् भनेर खासै वास्ता गरेन । अस्पतालले काम हेर्ने भन्दै ६ महिनासम्म काम लगाउने र ६ महिनापछि काम नजानेको भन्दै निकाल्ने गरेका छन् । यसप्रति कसैले चासो दिँदैन । नर्सिङका लागि पर्याप्त नियम–कानुन नबन्दा पनि नर्सिङ सकेपछि भोलेन्टियर्स गर्नैपर्ने भन्ने नर्सहरूको धारणा छ ।

अहिले म बाहिर जाने योजनामा छु । युएई नर्सिङका लागि राम्रो छ भन्ने सुनेकाले त्यता जानका लागि प्रोसेसमा छु । नर्स पढेर लाइफ बन्ला, आफ्नो स्टाटस बन्ला भन्ने सोचेको, तर केही नहुने रहेछ । कहिलेकाहीँ त रातभरि ड्युटी ग¥यो, बल्लतल्ल ३०–५० रुपैयाँ दिन्छन् । यत्रो खर्च गरेर नर्स पढेको नेपालमा केही नहुने देखेपछि विदेशको तयारी गरेकी हुँ । मभन्दा सिनियर दिदीहरू पनि बाहिर हुनुहुन्छ । महिनाको ५ लाख नेपाली कमाउनुहुन्छ । विदेशमा नर्सलाई सम्मान छ, तर नेपालमा न सम्मान छ न त पैसा नै ।

सवि सापकोटा स्टाफ नर्स

मैले स्टाफ नर्स सकेको ३ वर्ष भयो । यति धेरै खर्च गरेर नर्सिङ पढेँ, तर नेपालमा भविष्य देखिनँ । बिएन गर्नका लागि विदेश जाने तयारीमा छु । मैले २ वर्ष राजधानीको एक अस्पतालमा ४ हजार रुपैयाँमा पनि काम गरेँ । ७ लाख खर्च गरेर स्टाफ नर्स पढेको अस्पतालले ३–४ हजारमा काम लगाउँछन् । मैले यहाँ भविष्य नदेखेपछि बाहिर जाने सोच बनाएकी छु । नेपालमा नै काम गरेर बिरामीको सेवामा जीवन बिताउने सोचले नर्सिङ पढेँ । तर, सोचेजस्तो भएन । अन्त्यमा मैले पनि विदेशी भूमिका संघर्ष गर्नुपर्ने भयो ।

शिला थपलिया स्टाफ नर्स

मैले २०१३ मा स्टाफ नर्स सकेकी हुँ । राजधानीको किड्नी अस्पतालमा २ महिना भोलेन्टियर्स गरेँ । भोलेन्टियर्स गर्दा मैले केही पाइनँ । रातभरि ड्युटी गर्नुपर्छ । खाजा खाने खर्च पनि पाइँदैन । रातदिन मिहिनेत गर्‍यो, अन्त्यमा केही पनि पाइँदैन । त्यसैले मैले विदेश जाने योजना बनाएकी छु । नेपालमा कामअनुसारको पारिश्रमिक नहुँदा विदेश जानुपर्ने भयो । विदेशमा नर्सका लागि अत्यन्तै राम्रो भएका कारण पनि स्टाफ नर्सहरू विदेश पलायन हुने गरेका छन् ।

पुजा श्रेष्ठ स्टाफ नर्स

मैले अल नेपाल अस्पतालबाट स्टाफ नर्स पढेको हो । इसान अस्पतालमा ४ महिना भोलेन्टियर्स गरेँ । केही समय काम हेरेर राख्छौँ भन्छन्, तर जति काम गरे पनि पारिश्रमिक दिँदैनन् । नेपालमा धेरै नर्सिङ पढाउने क्याम्पस छन् । गुणस्तरीय पढाइ नभएर क्वालिटी प्रोडक्ट नहुँदा पनि नर्स भोलेन्टियर्स गर्न बाध्य छन् । नेपालमै बस्ने रहर हुँदाहुँदै पनि बस्न नपाउने अवस्था छ । सहयोग गर्छु भनेर मात्र हुँदैन, आफू पनि बाँच्नुपर्छ । भोकोपेटमा केही गर्न सकिँदैन । म नर्सिङ पेसाप्रति सन्तुष्ट छु । तर, विनापारिश्रमिक काम गर्नुपर्दा निराश हुन्छु ।

जुनु श्रीसमगर स्टाफ नर्स

काठमाडौंको एउटा अस्पतालमा ३ महिना भोलेन्टियर्स गरेँ । पछि एक वर्ष काम गरेँ । त्यो काम गरेको पैसाले आफ्नो सामान्य दैनिकी गुजार्न पनि गाह्रो भयो । अहिले त्यत्तिकै बसिरहेकी छु । सबैतिर सोर्स मात्र चल्छ । जसका मान्छ छन्, तिनैलाई मात्र अवसर छ । आफ्नो मान्छे कतै नहुने मजस्ताले भोलेन्टियर्स पनि पाउन गाह्रो छ । काम पाइएला भनेर बसेको पनि धेरै भइसक्यो । काम नहुँदा आफूमा भएको सीप पनि बिर्सने समस्या हुन्छ । यति दुःख गरेर पढेको काम गर्न नपाउँदा साह्रै नमीठो अनुभव हुनेरहेछ ।

प्रशंशा कोइराला स्टाफ नर्स

म अहिले पूर्वाञ्चल विश्वविद्यालयमा बिएन दोस्रो वर्षमा अध्ययनरत छु । मलाई सरकारी सेवामा प्रवेश गर्ने रहर छ, अहिले पनि लोकसेवाको तयारी गर्दै छु । निजी स्वास्थ्य संस्थामा काम गर्दा कम पारिश्रमिक दिन्छन् । कतिपय अस्पतालमा त विनापारिश्रमिक काम गर्नुपर्ने अवस्था छ । म यो पेसामा स्वेच्छाले प्रवेश गरेकी हुँ । त्यसैले मलाई नर्सिङमा नै जीवन बिताउन मन छ । तर, यत्रो सम्मानजनक पेसामा नर्सलाई अस्पतालले अपमानित गर्छन्जस्तो लाग्छ । सरकारले निजी अस्पताललाई व्यवस्थित गर्नुपर्छ । नर्सहरूले आफ्नो योग्यताअनुसारको पारिश्रमिक पाए नर्सिङ पढेर गर्वले हिँड्न सकिन्थ्यो ।

सरकारले नर्सको महत्व बुझेन
तारा पोखरेल अध्यक्ष, नेपाल नर्सिङ एसोसिएसन
अन्तर्राष्ट्रिय श्रम संगठनले कम्तीमा पनि ८ हजार पारिश्रमिक पाउनुपर्ने बताएको छ । तर, नेपालका नर्सहरूले ८ हजार पारिश्रमिकसमेत पाएका छैनन् । विदेशमा भने नर्सहरूका लागि राम्रो छ ।

नेपालमा बेरोजगार नर्स बढ्नुको कारण के होला ?
सरकारी लापरबाहीले बेरोजगार नर्सहरूको संख्या बढ्दै छ । अहिले नेपालमा ७२ हजार नर्स छन्, जसमा सरकारी स्वास्थ्य संस्थामा १० हजार र निजीमा २५ हजार पारिश्रमिक लिएर काम गरिरहेका छन् भने अन्य नर्स बिनापारिश्रमिक वा कम तबलमा काम गरिरहेका छन् । सरकारले निजी अस्पतालमा मनोमानी गर्न दिएको छ । निजी अस्पतालमा सरकारले अनुगमन गर्न सकेको छैन । सरकारी अस्पतालमा कर्मचारी नियुक्ति गर्न सकेको छैन । अन्तर्राष्ट्रिय श्रम संगठनले कम्तीमा पनि ८ हजार पारिश्रमिक पाउनुपर्ने बताएको छ । तर, नेपालका नर्सहरूले ८ हजार पारिश्रमिकसमेत पाएका छैनन् । विदेशमा नर्सहरूका लागि राम्रो छ । तर, नेपालमा नर्सको आवश्यकता सरकारले बुझेन ।

कुन–कुन देशमा नर्सहरूको डिमान्ड बढी छ ?
खासगरी अस्ट्रेलियामा नर्सका लागि राम्रो छ । त्यसपछि क्यानडा, अमेरिका, युकेजस्ता देशमा नेपालका नर्स काम गरिरहेका छन् । नेपालमा बिडिएस, एमबिबिएस, इन्जिनियरिङ पढेर गएकाको भन्दा नर्सिङ पढेर जानेका लागि राम्रो छ विदेशमा । नर्सिङ पढेर विदेश जानेले त्यहाँ गएर नर्सिङको लाइसेन्स लिन पाउँछन्, तर अरू पढेर जानेले बिरामीको केयर गर्ने, बिरामी सार्ने, डुलाउने काम गर्छन्, तर नर्सले औषधि, इन्जेक्सन मिलाउने काम गर्छन् । नर्सले बिरामी डिस्चार्ज गर्न हुन्छ नभनेसम्म डाक्टरले डिस्चार्ज गर्न मिल्दैन । त्यसैले विदेशमा नर्सको डिमान्ड बढ्दो छ । नेपालमा उत्पादित नर्स विदेश पलायन भइरहेका छन् । नेपाली नर्सको तलब विदेशमा मासिक २ देखि ५–७ लाख रुपैयाँसम्म हुने र उपयुक्त मूल्यांकन र सम्मान हुने भएकाले पनि नर्सिङ पढेपछि नर्स भएकाको गन्तव्यस्थल विदेश हुने गरेको छ ।

नेपालमा नर्सको संख्या बढ्दो छ । समाधानका लागि नर्सिङ संघले के गर्दै छ ?
हामीले गर्न सक्ने केही छैन । नर्सिङ संघले सरकारलाई दबाब दिने हो । सरकारलाई धेरैपटक नर्सका समस्या समाधानका लागि आग्रह गरिसकेका छौँ । स्वास्थ्य क्षेत्रमा राजनीतिको प्रवेश भएपछि कसैले हाम्रो माग सुन्दैन रहेछ । सरकारले भर्खरै मात्र नर्सको समस्या समाधान गर्न नर्सिङ सुधार समिति गठन गरेको छ । तर, यो समितिमा नर्सिङ संघलाई समावेश गरिएको छैन । नर्सहरूको समस्या बुझेको नर्सिङ संघलाई समावेश नगर्नु नै त्रुटिपूर्ण छ । तैपनि धेरै कुरा नर्सिङ संघले उठाएका माग छन् । नर्सिङ समस्या सुधार समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा केही त्रुटिपूर्ण कुरा लेखिएको छ । त्यो सच्याउन नर्सिङ समस्या सुधार समितिलाई आग्रह गरेका छौँ ।नर्सिङलाई स्पेसलाइज गर्नुको साटो जुन विषय पढेकाले पनि नर्सिङ पढाउन पाउने भन्ने कुरामा हाम्रो आपत्ति छ । प्रतिवेदनमा एमपिएच, वुमन हेल्थ पढेकाले नर्सिङ पढाउन पाउने भन्ने लेखिएको छ । त्यस्ता कुराले नर्सिङमा गुणस्तरीय शिक्षा हुँदैन ।

नर्सका समस्या समाधान कसरी गर्न सकिन्छ ?
पहिलो कुरा त सरकारले नर्स–प्यासेन्ट रेसियो लागू गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनले स्वास्थ्य संस्थामा बिरामी र नर्सको अनुपात कस्तो हुनुपर्छ भनेर मापदण्ड बनाएको छ । कमसेकम नर्स–प्यासेन्ट रेसियो मात्र लागू गर्ने हो भने धेरै नर्सको समस्या समाधान गर्न सकिन्छ । स्टाफ नर्स पढ्नका लागि निजीमा पाँचदेखि सात लाखसम्म शुल्क लाग्छ भने सरकारी कोटामा पढ्नेले पनि झन्डै तीन लाखजति खर्च गर्नुपर्ने हुन्छ । खाना र बसाइको जोड्दा नर्सिङ पढ्न निकै महँगो छ । बिएन गर्नका लागि कम्तीमा १५ लाख खर्च गर्नुपर्ने हुन्छ । पहिलेजस्तो नर्सिङ पढेकाले सजिलै जागिर पाउँछन् भन्ने अवस्था छैन । अस्पतालमा बिरामीको उपचारमा नर्सको भूमिका सबैभन्दा महŒवपूर्ण हुन्छ । सरकारले न्यूनतम पारिश्रमिक तोकेर अस्पतालमा बिरामीअनुसारको नर्स–प्यासेन्ट रेसियो राख्यो भने नेपालमा उत्पादन भएका नर्स नेपालमै खपत हुन्छन् । अहिले सरकारी अस्पतालमा एकजना नर्सको भागमा ४० जनासम्म बिरामी पर्ने गर्दछन् । नेपालमै उत्पादन भएका राम्रा नर्स विदेश पलायन भइरहेका छन् । त्यसैले आन्तरिक रूपमा व्यवस्थित बनाउने हो भने राम्रो पढेका नर्सहरू विदेश पलायन हुँदैनन् ।

समस्याको जड कहाँ छ ?
नर्सिङ क्षेत्रलाई राज्यले विशेष ध्यान नदिँदा नर्सहरूका समस्याको समाधान हुन सकेको छैन । विशेषतः नर्सहरूलाई सुरक्षा, क्वार्टर, जोखिम भत्ता तथा समयमै उचित पारिश्रमिकको समस्यासमेत रहेको छ । निजी अस्पतालले सरकारीस्तरसरह पारिश्रमिक नदिँदा नर्सहरू निकै कम पारिश्रमिकमा काम गर्न बाध्य छन् ।

Post a Comment

Powered by Blogger.