युएई,
एउटै नाम, उद्देश्य र क्षेत्र भए पनि फरक–फरक समूहमा युएईमा सक्रिय झापाली समाज युएईबीच एकता भएको छ ।
एकता, सहयोग र सहकार्यको मूल उद्देश्य लिएर सन् २०१५ नोभेम्बर १३ मा गठन भएको समाज एक वर्ष नबित्दै दुई भागमा विभाजित भएको थियो । एउटा समूहले काठमाडौँ र अर्को समूहले झापा जिल्ला प्रशासन कार्यालयमा दर्ता गराई आफ्नो क्रियाकलाप र गतिविधिलाई निरन्तरता दिएका थिए ।
झापा को दर्तालाई मान्यता दिने, काठमाडौँमा दर्ता भएको समूहबाट महासचिवलगायतका पदसहित केन्द्र, क्षेत्र र विभागमा ३० प्रतिशत कोटा सुरक्षित गर्ने लगायतका १० बुँदामा दुईपक्षीय सहमति भएपछि एकता सम्भव भएको हो ।
गत जनवरी १३ मा सम्पन्न झापाली समाजको प्रथम अधिवेशनले समेत नयाँ नेतृत्वलाई एकताका लागि पहल गर्न दबाब दिएको थियो । अधिवेशनलगत्तै बसेको पहिलो केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य मित्रलाल पोखरेलको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको थियो । अर्को समूहले पनि हेमसागर भटराईको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेर वार्ताका लागि तत्परता देखाएको थियो ।
चरणचरणमा वार्ता तथा औपचारिक तथा अनौपचारिक छलफल गर्दै केन्द्रीय पदाधिकारी तथा सदस्यमा सम्मानजनक समायोजन गर्ने गरी कार्यवाहक अध्यक्ष मात्रिका लम्साल रहेको झापाली समाज युएई र रोहित भण्डारी अध्यक्ष रहेको झापाली समाज युएईबीच एकीकरण भएको हो ।
Post a Comment