Halloween party ideas 2015


यदि तिमीलाई आफूले किन जितें भन्ने कारण थाहा छैन भने त्यो निकै खतरनाक हुन्छ,’ प्रविधि समीक्षक वेन थोम्सनले एक अन्तर्वार्तामा भनेका थिए । सामसङ–स्मार्टफोनको बजारमा खस्कँदो साखप्रति लक्षित उनको भनाइको तात्पर्य हो, ‘आफ्नो जितको कारण थाहा नभएको विजयीले जुनसुकै बेला पनि हार्न सक्छ र उसलाई हारको कारण पनि थाहा नहुन सक्छ ।’

केही वर्षअघिको थोम्सनको यो टिप्पणी अहिले आएर सामसङको भविष्यसँग मिल्ने पो हो कि भन्ने भान धेरैलाई पर्न सक्छ । किनकि, पछिल्ला महिना सामसङले यस्तै अप्ठेरो परिस्थितिसँग जुध्दै छ, थाहै नपाई ऊ यस्ता समस्यामा अल्झिएको छ । 
विश्वका लागि सामसङको पहिलो परिचय स्मार्टफोनसँग सम्बन्धित होला तर दक्षिण कोरियाका लागि यो अर्थतन्त्रको मेरुदण्ड हो । जस्तो कुनै बेला फिनल्यान्डका लागि नोकिया थियो । पानीजहाज उत्पादनदेखि विज्ञापन एजेन्सी, रेफ्रिजेरेटरदेखि एयर कन्डिसनर– सामसङ नाम सबै चीजसँग जोडिएको छ जुन मानिसले दैनिक जीवनमा अनुभव गर्छन् । दक्षिण कोरियाको जीडीपीको २३ प्रतिशत हिस्सा सामसङले ओगट्छ र यसको निर्यातको २ प्रतिशत हिस्सा सामसङको स्मार्टफोनले धानेको छ ।
सामसङ ग्रुपअन्तर्गत चार दर्जनजति कम्पनीमध्ये सामसङ हेभी इन्डस्ट्रिज विश्वकै दोस्रो ठूलो पानीजहाज उत्पादक हो । सामसङ इन्जिनियरिङ विश्वकै १३ औं ठूलो कन्स्ट्रक्सन कम्पनी र सामसङ लाइफ इन्स्योरेन्स विश्वकै १४ औं ठूलो बिमा कम्पनी मानिन्छ । सामसङ ग्रुपअन्तर्गतकै चेल वल्र्डवाइड सन् २०१२ को तथ्यांकअनुसार विश्वकै १५ औं ठूलो विज्ञापन एजेन्सी हो ।

यी र यस्तै सफल व्यवसायले सामसङलाई विश्वकै ठूलो ब्रान्डमा पार्न सफल भएको हो र दक्षिण कोरियाको यो अभिन्न अंग बनेको हो । कम्पनी स्थापनाको झन्डै ८ दशकको इतिहासमा पछिल्ला केही दशक सामसङले आफूलाई फराकिलो पारेको हो ।

पछिल्लो दशकमा यसको विस्तार हेर्दा लाग्छ, कम्पनीले जताततै जितिरहेको छ । दक्षिण कोरियाली जनताको दैनिकीमा जोडिने हरेक सामानको उत्पादन र व्यवसाय सामसङका कारण दक्षिण कोरियालाई व्यंग्य गर्दै भनिन्छ, ‘रिपब्लिक अफ सामसङ ।’ यसले बजारमा एप्पलको आइफोनलाई जितेर सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी बनेको पनि केही वर्ष मात्रै भयो ।

स्मार्टफोनबाट धेरै नाफा कमाउने कम्पनीको सूचीमा यो एप्पलभन्दा पछाडि दोस्रो नम्बरमा पर्छ । यसले खडा गरेको बजार–साम्राज्य केही वर्ष अझैं उभिनेछ ।

यसले ‘नेक्स्ट बिग थिङ’ को नारा दिएर सन् २०११ म सुरु गरेको अभियानअन्तर्गत एप्पलको आइफोनलाई धेरै बिक्री हुने स्मार्टफोनको सूचीमा पछि पारेको थियो । ठूलो स्क्रिनसहितका ग्यालेक्सी सिरिजका उसको स्मार्टफोनले सामसङलाई स्मार्टफोन बजारको ‘विजयी ब्रान्ड’ बनाएको थियो । आइफोन जत्तिकै ‘फिचर्स’ र उसकोभन्दा कम मूल्यका स्मार्टफोनले प्रयोगकर्तालाई आइफोनको विकल्प दिएको थियो । तर, प्रतिस्पर्धामा अघि बढिरहेको कम्पनीले आफू पछाडि आइरहेको अर्को कम्पनीलाई नदेख्नु अर्को भूल हुन सक्छ ।

जसरी सन् २०१० पछि आइफोनलाई सामसङले पछयाएको थियो, ठीक उसैगरी अहिले चिनियाँ स्मार्टफोन उत्पादक जिओनी र ह्वावेले स्मार्टफोन बजारमा सामसङलाई पछयाइरहेका छन् । बजार ट्रेन्ड हेर्दा लाग्छ त्यो दिन धेरै टाढा छैन जुन दिन यी कम्पनीले सामसङलाई बिक्रीको हिसाबमा पछि पार्नेछन् किनकि एन्ड्रोइड फोन बोक्ने प्रयोगकर्ताका लागि सामसङको फिचरमा प्रतिस्पर्धा गर्ने स्मार्टफोन यिनले उत्पादन गरिरहेका छन् र त्यसको झन्डै आधा मूल्यमा बेचिरहेका छन् । र, जिओनी र ह्वावेको वार्षिक बिक्री वृद्धि अन्य स्मार्टफोन कम्पनीको भन्दा बढिरहेको छ ।

हुन त स्मार्टफोन मात्रै सामसङको परिचय होइन् तर विश्व बजारमा सामसङको पहिलो पहिचान यही नै हो । र, यसको सफलता र असफलताले विश्व बजारमा सामसङको साख निर्धारण गर्छ । जसरी, आइफोनको एप्पलले र गुगलको सर्च इन्जिनले गर्छ । बजार टिक्न पहिला उत्पादन र उत्पादकको साख प्रयोगकर्ताको नजरमा राम्रो रहिरहनु आवश्यक छ ।

यदि यसो हुने हो भने बजारमा आउने सामान्य घटबढले यस्ता कम्पनीलाई प्रभाव नपार्न सक्छ, जसरी आइफोन बिक्रीमा आउन सामान्य उतारचढावले एप्पललाई असर गरेको छैन । किनकि कम्पनीसँग त्यो हैसियत रहिरहन्छ जसले पुन: नम्बर एक बनाउन सघाउनेछ ।

सामसङले आफूभन्दा राम्रो उत्पादकको रूपमा एप्पलसँग प्रतिस्पर्धा गरिरहेको थियो र आफ्नो विकल्प दिने कम्पनीको रूपमा जिओनी र ह्वावेसँग पनि प्रतिस्पर्धा गरिरहेकै छ । यसलाई बजार प्रतिस्पर्धाको सामान्य नियम मान्दा केही फरक नपर्ला तर २०१६ को अन्त्यतिर सामसङले पछिल्लो ५–७ वर्षयता स्मार्टफोन बजारमा पाइरहेको सफलतामा एउटा ब्रेक लगाउनुपर्‍यो । उसले आफ्नो अहिलेसम्मकै राम्रो स्मार्टफोन भन्दै दाबी गरेको ग्यालेक्सी नोट सेभेन बिक्री सुरु हुनेबित्तिकै पड्किन थालेको खबरहरू बाहिरिए र कम्पनीले बजार पठाएका सबै फोनहरू फिर्ता लिंदै यसको उत्पादन बन्द भएको घोषणा गर्नुपर्‍यो ।

सामसङले पछिल्लो साता घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्दै ब्याट्रीमा आएको समस्याले फोन पड्किएको निष्कर्ष निकालेको छ आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको छ । नोट सेभेनको असफलताले उसको बजार मूल्यमा २६ मिलियन डलरको गिरावट आएको र उसलाई ५ बिलियन डलरभन्दा बढी घाटा लागेको प्रक्षेपण थियो । तैपनि सामसङ इलेक्ट्रोनिक्स घाटामा गएको छैन किनकि स्मार्टफोन मात्रै उसको बजार हिस्सा होइन ।

सुरुआती लन्चमा बजार पठाइएको करिब २५ लाख स्मार्टफोन डिभाइस फिर्ता लिएपछि कम्पनीले अर्को समस्या झेल्नुपर्‍यो । प्रयोग भइरहेका ७ सय बढी वासिङ मेसिन पड्किएको तथ्यांक आयो । त्यसपछि उसले नोभेम्बरमा बजारमा रहेका आफ्ना २८ लाख वासिङ मेसिन फिर्ता लियो ।

समस्या यतिले मात्रै टुंगिएन, नोभेम्बरमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गयुन हेइको विवाद काण्डमा फेरि सामसङ मुछिन पुग्यो । पार्कका सहयोगीले स्थापना गरेको फाउन्डेसनलाई पैसा दिएको र त्यसबापत कम्पनीको पक्षमा फाइदा लिएको आरोपमा कम्पनीका उपाध्यक्ष ली जे योङलाई पक्राउ गर्नुपर्ने पक्षमा छन्, कोरियाली सरकारी वकिल । योङ सामसङ अध्यक्ष ली कुन हेका छोरा हुन् । र, पद उपाध्यक्ष भए पनि वास्तवमा उनले नै कम्पनीको नेतृत्व लिइरहेका छन् ।

यसअघि सन् २००८ मा कर छलीको आरोप लागेपछि तत्कालीन अध्यक्ष ली कुन हेले राजीनामा दिएको थिए । एक वर्षपछि व्यवसायीका प्रिय मानिने तत्कालीन राष्ट्रपतिले माफी दिएपछि हे फेरि सामसङ ग्रुपको अध्यक्ष पदमा फर्किएका हुन् । सामसङ इलेक्ट्रोनिक्सका प्रमुख हुँदै सामसङ ग्रुपको उपाध्यक्ष पदमा आइपुगेका उनका छोरा योङले नै सामसङ गु्रपको नेतृत्व लिइरहेका छन् । योबाहेक सामसङ ग्रुपअन्तर्गतका धेरै संस्थामा हेकै नातेदार नेतृत्वमा छन् ।

महाभियोग मुद्दाका कारण निलम्बित राष्ट्रपतिको चुनावी मुद्दा आर्थिक प्रजातान्त्रीकरण थियो । यसको अर्थ हो, क्रस होल्डिङ सेयर भएका एक दर्जनजति ठूला कम्पनीमाथि नीतिगत कडाइ र उनीहरूले गरिरहेको व्यापारमा एकाधिकारको अन्त्य । चुनावी र्‍यालीको क्रममा उनले भनेकी थिइन्, ‘ठूला कम्पनीले साना कम्पनीको आइडिया चोरेर बेच्छन् ।’

विडम्बना उनैलाई ठूला कम्पनीसँग फाउन्डेसनका लागि पैसा लिएर उनीहरूको फाइदाका लागि सहयोग पुर्‍याएको आरोप लागेको छ । र, जनतालाई लागेको छ— उनी आफैं बिक्री भइन् । त्यसैले उनको विरोधमा दक्षिण कोरियामा हजारौं जनता सडकमा ओर्लिए ।

दक्षिण कोरियाको राजनीतिमा सामसङको यो प्रभाव ठूला व्यापारिक संस्थाले कसरी सरकार र व्यवस्थालाई प्रभाव पार्छन् भन्ने उदाहरण पनि हो । कम्पनीका पूर्व प्रमुख अधिवक्ता किम योङ चुलले पनि यसको खुलासा गरेका छन् । सामसङसँग सरकारी अधिकारीलाई घूस खुवाउन २० करोड डलरको छुट्टै कोष भएको उनको दाबी छ । उनले पुस्तकै लेखेर सामसङभित्रको भ्रष्टाचार खुलासा गरेका थिए । तर, उनी कोरियाली सञ्चारमाध्यममा प्रतिबन्धितजस्तै छन् ।

दक्षिण कोरियाली अर्थतन्त्र र समाजसँग सामसङको यो सम्बन्धले केही दशकअघिको नोकिया र फिनल्यान्डको सम्बन्धको झझल्को दिन्छ । ७ सय वर्ष स्विडेन र एक सय नौ वर्ष रुसबाट शासित फिनल्यान्ड सन् १९१७ मा स्वतन्त्र भएको थियो । फिनल्यान्ड स्वतन्त्र राष्ट्र हुनुभन्दा ५ दशक जेठो थियो नोकिया । भन्ने गरिन्छ, ७० को दशकमा ओरालो लागेको फिनल्यान्डको अर्थतन्त्र नोकियाले जीएसएम मोबाइल उत्पादन सुरु गरेपछि सुधारिएको थियो ।

अनि, विश्व बजारमा नोकियाको आधिपत्यसँगै फिनल्यान्डको अर्थतन्त्र उकासिँदै गयो । सन् २००० को तथ्यांकअनुसार फिनल्यान्डको २१ प्रतिशत निर्यात नोकियाले गथ्र्यो र उसले जीडीपीको ४ प्रतिशत हिस्सा आगटेको थियो । तर, सन् २००७ मा आइफोनको आगमनले किप्याडवाला नोकियाको मोबाइल फोनको बिक्रीमा धक्का लगाइदियो र नोकियाको आरालो यात्रा सुरु भयो । थप धक्का दिन सामसङसमेत ग्यालेक्सी ब्रान्डका स्मार्टफोन लिएर बजारमा आइपुगेको थियो ।

यो बेलासम्म नोकिया फिनल्यान्डको राष्ट्रिय संस्थाजस्तो बनिसकेको थियो । नोकिया र फिनिस अर्थतन्त्रबीचको कस्तोसम्म सुमधुर थियो भने कम्पनीले धेरै कामदार कटौती गर्न थालेपछि बेरोजगार समस्या सिर्जना नहोस् भनेर सरकारले सन् २००९ साना उद्यम प्रोत्साहित गर्ने योजना अघि सारेको थियो । सन् २०१३ मा भारत र नोकियाबीच करको विषयमा विवाद हुँदा फिनल्यान्डले सरकारी तवरबाटै विवाद मिलाउन लबिइङसमेत गरेको थियो ।

केही एक दशकअघिसम्म फिनल्यान्डको अर्थतन्त्रको मेरुदण्ड नोकिया र अहिले दक्षिण कोरियाको अर्थतन्त्रको मुख्य खम्बा सामसङबीच समानता के भने दुवै आआफ्नो समयमा आआफ्नो देशको अर्थतन्त्रको ठूलो हिस्सा हुन् । दुई कम्पनीबीच फरकचाहिँ के भने फिनल्यान्डको अर्थतन्त्र नोकियाको विस्तारसँगै डोरिएको थियो तर सामसङको साम्राज्य कर छली, भ्रष्टाचार र छलकपटसँग जोडिएको छ । तर पनि कोरियामा कम्पनीको साख भने गिरेको छैन किनकि उनीहरूको जीवनको अभिन्न ब्रान्ड हो सामसङ र यसले अर्थतन्त्रमा ठूलो टेवा दिएको छ । यही नै कम्पनीको टिकिराख्छ भन्ने सामर्थ हो । तर, विश्व बजारमा यसको ब्राण्न्ड भ्यालु कति छ भन्ने कुराको निष्कर्ष निकाल्न भने उसले चाँडै सार्वजनिक गर्ने भनेको ग्यालेक्सी एस एट नै कुर्नुपर्छ ।

बजार र राजनीतिसँग जोडिएको यो दु:खद अवस्था झेलिरहेको सामसङले थोम्सनको भनाइ भने सम्झिनैपर्ने हुन्छ, यदि तिमीलाई आफूले किन जिते भन्ने कारण थाहा छैन भने त्यो निकै खतरनाक हुन्छ ।’

Post a Comment

Powered by Blogger.