सन् २०१३ मा फेसबुकले तीन अर्ब डलरमा स्न्यापच्याटलाई किन्न खोजेको थियो तर स्न्यापच्याटले बिक्री हुन अस्वीकार गरेको खबरले सनसनी मच्चाएको थियो । सन् २०११ मा स्थापना भएर भर्खरै प्रयोगकर्तामाझ लोकप्रियता कमाउँदै गर्दा त्यति धेरै मूल्य लत्याएर फेसबुकको प्रस्ताव अस्वीकार गरेको स्न्यापच्याटको चर्चा पछिल्ला वर्षमाझ नै बढेको छ र यो अहिले नयाँ पुस्ताको प्रिय एप बनेको छ ।
स्न्यापच्याटले त्यो बेला फेसबुकको प्रस्ताव अस्वीकार गर्दा धेरैले अचम्म मानेका थिए । किनकि भर्खरै प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गरेको कम्पनीले सबैभन्दा ठूलो सोसल मिडिया कम्पनीबाट त्यति धेरै मूल्यको अफर पाउनु चानचुने कुरा होइन् । फेसबुकले लगत्तै अर्को लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपलाई १९ अर्ब डलर खर्चिएर किन्यो ।
तर, अहिले आएर के प्रमाणित भएको छ भने फेसबुक स्न्यापच्याट किन्ने विचारमा मात्रै थिएन, ऊसँग अति नै बढी प्रभावित थियो । पछिल्लो समय फेसबुकले म्यासेन्जर र आफ्नो स्वामित्वको फोटो सेयरिङ साइट इन्स्टाग्राममा स्न्यापच्याटबाट प्रभावित भएर फिचरहरू थपेको आरोप खेपिरहेको थियो ।
सायद, अहिलेको सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल मिडिया कम्पनीलाई यो आरोपले खासै फरक पारेको छैन । अहिले फेसबुकको म्यासेन्जर स्न्यापच्याटसँग दुरुस्तै मिल्ने भएको छ । उसले एक महिनाअघि सुरु गरेको म्यासेन्जरको नयाँ फिचर अहिले लगभग सबै प्रयोगकर्ताले अनुभव गरिरहेका छन् ।
स्न्यापच्याटसमेत चलाउने प्रयोगकर्तालाई थाहा छ अहिलेको म्यासेन्जर ठ्याक्कै स्न्यापच्याटजस्तो देखिन्छ । स्न्यापच्याटजस्तै यसको एपमा इनब्ल्युल्ट क्यामेरा थपिएको छ । स्मार्टफोन स्क्रिनको तल्लो बीच भागमा देखिने क्यामेरा बटन र फोटो र भिडियो खिच्दा ठ्याक्कै स्न्यापच्याटको झझल्को आउँछ । साथै, यसमा स्न्यापच्याटको जस्तै मास्क राख्ने, डुडल, इमोजी र फोटो तथा भिडियोमा टेक्स्ट लेख्ने फिचर राखिएको छ ।
गत जुलाईको तथ्यांकअनुसार म्यासेन्जरमा मासिक सक्रिय प्रयोगकर्ता एक अर्ब नाघेका छन् । यो तथ्यांक अनुसार म्यासेन्जर अहिलेको सबैभन्दा बढी प्रयोगकर्ता भएको मोबाइल म्यासेजिङ एप हो । तर, सबैभन्दा ठूलो कम्पनीले आफ्नो प्रतिस्पर्धीको फिचर कपी गरेर आफ्ना प्रयोगकर्तालाई दिनु पक्कै शोभनीय होइन । फेसबुकले स्न्यापच्याटको फिचर कपी गरेको यो पहिलो पटक भने होइन् । पछिल्लो समय म्यासेन्जर र इन्स्टाग्रामलाई स्न्यापच्याटबाट प्रभावित भएर फिचर थपेको आरोप लागिरहेको छ ।
केही वर्षअघि पनि फेसबुकले स्न्यापच्याटकै दुरुस्त ‘पोक’ नाम एप लञ्च गरेको थियो । स्न्यापच्याट किन्न प्रस्ताव गर्नु एक वर्षअघि फेसबुकले पोक लञ्च गरेको थियो तर सन् २०१४ माउसले पोक एप बन्द भएको घोषणा गर्यो । स्न्यापच्याटजस्तै फिचर भए पनि प्रयोगकर्तामाझ लोकप्रिय बन्न नसकेपछि पोक बन्द भएको थियो । केही महिना अघि मात्रै फेसबुक स्वामित्वको इन्स्टाग्रामले स्न्यापच्याटजस्तै ‘स्टोरी’ फिचर सुरु गरेको छ ।
सुरुवाती चरणमा साथीसँग सेयर गरेको फोटो केही सेकेन्डमै डिलिट हुने फिचरका कारण स्न्यापच्याटले टिनएज प्रयोगकर्तामाझ लोकप्रियता कमाएको थियो तर विस्तारै स्न्यापच्याटले ल्याएको नयाँ–नयाँ फिचरले प्रयोगकर्तालाई यसमा बाँधिइरह्यो ।
तर, आयरल्यान्डका प्रयोगकर्तामाझ फेसबुकले फेरि स्न्यापच्याटकै जस्तो फिचर परीक्षण गरिरहेको खबरहरू बाहिरिएको छ । यस्ता खबरहरू अनुसार फेसबुकले आयरल्यान्डका प्रयोगकर्तामाझ स्न्यापच्याटकै अर्को क्यामेरा फिचर प्रयोग गरिरहेको छ जसबाट प्रयोगकर्ताले अरूलाई पठाएको फोटो तथा भिडियो केही सेकेन्डमै डिलिट हुनेछ । यो स्न्यापच्याटको महत्त्वपूर्ण फिचर हो जसले सुरुवाती दिनमा यसलाई प्रयोगकर्तामाझ लोकप्रिय बनाएको थियो । योबाहेक म्यासेन्जरमा सेक्रेट कन्भर्सेसन फिचर यसअघि नै सुरु गरिएको छ जुन अर्को प्रयोगकर्ताले पढेको केहीबेरमै डिलिट हुन्छ ।
स्न्यापच्याटबाट फिचर चोरी गरेको आरोपमा खेपिरहेको फेसबुकको म्यासेन्जर स्न्यापच्याटकै ‘कपीक्याट’ बन्न पुगेको छ । यसले म्यासेन्जरलाई ‘कुल’ बनाउनेछ वा प्रयोगकर्तालाई स्न्यापच्याटतर्फ थप आकर्षित गर्नेछ त्यो भने प्रयोगकर्ताको सहजतामा भर पर्नेछ ।
Post a Comment