Halloween party ideas 2015

फेसबुक, गुगल, अमेजन, आईबीएम र माइक्रोसफ्ट अहिले प्रविधि क्षेत्रमा कहलिएका कम्पनी हुन् । यी एउटै कम्पनीले सार्वजनिक गर्ने एउटै प्रडक्ट वा सेवाले मानिसको जीवन थोरबहुत सहज बनाउन सघाइरहेको छ । तर, यी सबै कम्पनी मिलेर एउटै काम गरे भने के हुन्छ ? झन्, यी कम्पनीको सूचीमा एप्पल पनि थपिएपछि यिनीहरूले गर्ने भनेको कामको सफलता कत्ति नजिक आइपुग्ला ? 
हो, यही प्रश्नले अघिल्लो सातादेखि चर्चा पाइरहेको छ । एक वर्षअघि फेसबुक, गुगल, अमेजन, माइक्रोसफ्ट र आईबीएम मिलेर एउटा उद्देश्यको लागि सुरु गरेको अभियानमा अघिल्लो सातादेखि एप्पल पनि मिसिएको छ । यो अभियानको नाम हो– एआई टु बेनिफिट पिपुल एन्ड सोसाइटी ।
एआईको अर्थ आर्टिफिसियल इन्टेलिजेन्स हो । कुनै मेसिनले मानिसले जस्तै बुद्धि, विवेक प्रदर्शन गरी काम गर्छ भने त्यसलाई आर्टिफिसियल इन्टेलिजेन्स भनिन्छ । यसलाई मेसिन लर्निङ प्रविधि पनि भनिन्छ जसले मानिसको व्यवहार र भावको नक्कल गरी सोहीअनुसारको काम गर्न सक्छ ।
यही प्रविधिका लागि अहिलेका ठूला प्रविधि कम्पनीहरूले अघिल्लो वर्षदेखि सुरु गरेको सामूहिक अभियानमा गत सातादेखि एप्पल पनि जोडिएको छ । यो अभियानमा ठूला कम्पनीहरू एकसाथ आएपछि धेरैको विश्लेषण छ– उनीहरूको लक्ष्य चाँडै पूरा हुनेछ । तर, एकसाथ चिन्ताको स्वरहरू पनि सार्वजनिक हुन थालेको छ कि यी कम्पनीहरू मिलेर मानिसले जस्तै काम गर्न सक्ने रोबोट, मेसिन वा कुनै प्रविधिहरू बनाए पनि मानिसको हातबाट रोजगारी गुम्ने त होइन ?
अहिले यी सबै ठूला कम्पनीको ध्यान यस्तै मेसिन लर्निङ टेक्नोलोजीमा छ । जस्तो : एप्पलको सिरी, फेसबुकको म्यासेन्जर बुट र अमेजनको एलेक्सा । एप्पलको सिरीले आफूसँग भएको डाटाको आधारमा प्रयोगकर्ताले सोधेको प्रश्नको उत्तर दिन्छ । यो उत्तर दिने काम मानिसले नभई मेसिनले गरिरहेको छ । अमेजनको एलेक्साले पनि प्रयोगकर्ताले आवाजमार्फत दिएको निर्देशनअनुसार केही काम गर्न सक्छ । फेसबुकले गत वर्षदेखि सुरु गरेको म्यासेन्जर बुट अहिले व्यापारिक प्रयोजनका लागि लोकप्रिय भइरहेको छ । यसले म्यासेन्जरमा कसैले पठाएको प्रश्नको उत्तर दिन सक्छ । म्यासेन्जर बुटले कुनै कम्पनीको कस्टमर केयरमा काम गर्ने मानिसको संख्या घटाउन सहयोग गरिरहेको छ । यी त भए पर्सनल असिस्टेन्टका कुरा । 
अहिले सबैभन्दा चर्चामा रहेको अर्को विषय हो– चालकविहीन कार । सबै ठूला प्रविधि कम्पनी र कार निर्माता कम्पनीहरू यसमा लागिपरेका छन् र केहीले परीक्षणसमेत गर्न भ्याइसकेका छन् । यो उपक्रम सफल हुँदै जाँदा भविष्यमा कार चलाउन मानिसको आवश्यकता नपर्न सक्छ । सिंगापुरले सन् २०२० भित्र सबै मानव सञ्चालित ट्याक्सी हटाएर चालकविहीन ट्याक्सी सुरु गर्ने घोषणा गरिसकेको छ । 
उद्योगमा खतरनाक काम गर्न मानिसको सट्टा रोबोट प्रयोग भएको उदाहरण त धेरै अघिदेखि सुरु भएको हो । यसअघि नै युनिभर्सिटी क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरूले रोबोटलाई मानिसको सहयोगबिना शल्यक्रिया गर्न सक्ने गरी तयार पारिरहेको खबर आइसकेको छ । यसमा उनीहरूलाई सफलता हात लागे, पक्कै थरीथरीका शल्यक्रिया मानिसको सहयोगबिना नै रोबोटले गर्न सक्नेछन् । दुई वर्षअघि समाचार संस्था एपीले एक बास्केटबल खेलको समाचार रिपोर्टिङ रोबोटमार्फत गराएर सफलता पाइसकेको छ र एकै प्रकृतिका समाचार लेख्नका लागि यो उपयोगी हुने पुष्टि भइसकेको छ । 
तर, आर्टिफिसियल इन्टेलिजेन्ससँगको डर भनेको के भने यसले मानिसको व्यवहार र बुद्धि तथा कौशलहरू सिकेर त्यसैगरी काम गर्न सक्छ । यसले केके काम गर्न सक्नेछन् भन्ने कुरा यसमा हात लाग्ने सफलताले निर्धारण गर्नेछ । र, केही सफलता यसअघि नै हात लागिसकेका छन् । यस्तै प्रविधिका लागि ठूला कम्पनीहरू एकसाथ जोडिएका छन् । 
ठूला कम्पनीहरू एकसाथ उभिनु भनेको उनीहरूसँग भएको डाटाबेस, सीप, अनुभव र दक्ष जनशक्तिसमेत एकीकृत हुनु हो । र, अहिलेका ठूला कम्पनीहरू एकजुट भएर विकास गर्ने प्रविधिले मानिसको काम मात्रै खोस्नेछ वा उनीहरूलाई थप अवसर दिनेछ त्यो भने समयले बताउनेछ । 

Post a Comment

Powered by Blogger.