Halloween party ideas 2015


फक्स न्युजमा १२ वर्ष काम गरेपछि मेगन केली विभिन्न ‘टेलिभिजन सो’ चलाउन एनबीसीमा पुगेकी छिन् । प्रसारकसँगको विस्तृत र बहुवर्षे सम्झौतापछि केली हरेक आइतबार साँझ एनबीसी न्युज कार्यक्रम चलाउँछिन् । एक घण्टाको समाचार साक्षात्कार कार्यक्रम चलाउनुका साथै उनी राजनीतिक घटनाका समाचारका लागि मुख्य आधार हुनेछिन् । 
नयाँ स्थान र नयाँ कार्यक्रमको मतलव हुन्छ, केलीले पहिलेको भन्दा बढी तलब लिनु । ‘न्युयोर्क टाइम्स’ र ‘द वालस्ट्रिट जर्नल’ का अनुसार उनको नयाँ तलब वार्षिक १ करोड ५० लाख डलरदेखि २ करोड डलरसम्म हुन सक्छ । पहिले नै आएका समाचारअनुसार फक्स न्युजमा उनको तलब वार्षिक १ करोडदेखि १ करोड २० लाख डलरबीचमा थियो । उसो भए केलीको तलबमान र अरू चर्चित एवं प्रख्यात टीभी कार्यक्रम प्रस्तुताको पारिश्रमिकमा कति फरक छ त ? गत अक्टोबरमा ‘भेराइटी’ म्यागेजिनले टीभी अभिनेता र प्रस्तुताहरूको अनुमानित पारिश्रमिक सार्वजनिक गरेको थियो । अभिनेता, कार्यकारी, एजेन्टस, कानुनी सल्लाहकार र प्रतिनिधिबीच गरिएको सर्वेक्षणका आधारमा पारिश्रमिकको अनुमान सार्वजनिक गरिएको हो । यहाँ केलीजस्तै उच्च पारिश्रमिक पाउने चर्चित टीभी सुपरस्टारको जानकारी छन् : 
जुडी साइन्डलेन
साइन्डलेन टीभी सेलिब्रेटीमा सबैभन्दा धेरै पारिश्रमिक पाउनेमा पर्छिन् । उनले वर्षको ४ करोड ७० लाख डलर पाउँछिन् । उनको कोर्टरुम रियालिटी सो ‘जज जुडी’ एकदमै चर्चित छ । यो हाल २१ औं शृंखला (सिजन) मा चलिरहेको छ । यो सन् २०१५ मा सबैभन्दा धेरै रेटिङ गरिएको ‘सिन्डिकेटेड सो’ भएको थियो । एक सातामा यसका दर्शक १ करोडभन्दा बढी नाघेका थिए । उनले सीबीएससँग सन् २०२० सम्मका लागि नवीकरण गरेकी छिन् ।
एलेन डिजेनेरेस 
एलेन डिजेनेरेसले पनि वर्षको २ करोड अमेरिकी डलर तलब पाउँछन् । उनले अहिले ‘द एलेन डिजेनेरेस सो’ को १४ औं शृंखला चलाइरहेका छन् । सन् २०२० सम्मका लागि उनको ‘सिन्डिकेटेड टक सो’ नवीकरण भएको छ ।
माट लाउर 
एनबीसी न्युजमा ‘टुडे’ सो चलाउने माट लाउरले वर्षको २ करोड अमेरिकी डलर तलब पाउँछन् । उनले गत नोभेम्बरमा दुई वर्षका लागि नवीकरण गरेका छन् । फर्चुनका अनुसार दुईवर्षे नवीकरणका क्रममा उनको तलब २ करोड अमेरिकी डलर पुगेको हो । 
बिल ओ–रैली 
बिलले हाल वर्षको १ करोड ८० लाखदेखि २ करोड अमेरिकी डलर तलब पाउँछन् । उनको ‘द ओ–रैली फ्याक्टर’ गत वर्ष केबल न्युज रेटिङमा एक नम्बर हुन सफल भएको थियो । 
केली रिपा
केली रिपाले हाल १ करोड ६० लाख देखि २ करोड अमेरिकी डलरसम्म पाइरहेकी छिन् । उनले ‘लाइभ’ ‘मोर्निङ सो’ चलाइरहेकी छिन् । सन् २०११ देखि उनले चलाएको यो कार्यक्रममा लागि सहकर्मी खोजिरहेकी छिन् । गत वर्ष जनवरीमा ४ वर्षका लागि यो कार्यक्रम नवीकरण भएको छ । 
मेगन केली
मेगन केली हाल १ करोड ५० लाखदेखि २ करोड डलरसम्म तलब पाइरहेकी छिन् । फक्स न्युजमा १२ वर्ष काम गरेकी उनले त्यहाँ १ करोड ५० लाख डलर पाइरहेकी थिइन् । उनको सम्झौता नवीकरण हुने बेला फक्स नेटवर्कले २ करोडको अफर दिएको थियो ।  
माइली साइरस 
साइरस ‘द भ्वाइस’ की जज हुन् । उनले वार्षिक १ करोड ३० लाख देखि १ करोड ५० लाखसम्म तलब पाउँछिन् । उनी ‘द भ्वाइस’ का पुराना जज एडम लेविनकै हाराहारी कमाउँछिन् । अमेरिकन आइडलमा जज बन्द जेनिफर लोपेजले कमाएको १ करोड ७५ लाख जत्ति भने उनको तलब पुगिसकेको छैन । 
एडम लेविन 
एडम लेविनले हाल वर्षको १ करोड ३० लाखदेखि १ करोड ५० लाखबीचमा पारिश्रमिक पाइरहेका छन् । उनी सन् २०११ देखि सुरु भएको ‘द भ्वाइस’ कार्यक्रमका जज रहेका छन् । सुरुमा ‘स्प्रिङ टीभी सिरिज’ का रूपमा सुरु भएको यो कार्यक्रमको अहिले ११औं शृंखला चलिरहेको छ ।
जिमी फालोन 
जिमी फालोनले अहिले वार्षिक १ करोड ३० लाखदेखि १ करोड ५० लाखसम्म पारिश्रमिक पाइरहेका छन् । ‘द टुनाइट सो’ चलाउने फलोनले ‘लेट नाइट सो’ मा सबैलाई उछिन्दै अघि बढेका छन् । उनी यस्ता कार्यक्रमको ‘रेटिङ’ मा अरूभन्दा अगाडि देखिएका छन् ।
जिमी किमेल 
जिमी किमेल एबीसीमा रातको कार्यक्रम चलाउँछन् । उनले हाल १ करोड ३० लाखदेखि १ करोड ५० लाखसम्म तलब पाइरहेको अनुमान छ । उनले गत वर्ष मात्र चार वर्षका लागि एबीसीसँग सम्झौता गरेका छन् । 
पाट सजक 
सजकले वार्षिक १ करोड २० लाख अमेरिकी डलर पारिश्रमिक पाउँछन् । उनले ‘हल फ फर्चुन’ गेम–सो चलाउँदै आएका छन् । तीन वर्षअघि उनले हफिङटन पोस्टलाई आफ्नो सो समाप्त पार्नेबारे बताएका थिए । तर, गत वर्ष उनले थप तीन वर्षका लागि सम्झौता गरेका छन् । 
कोनन् ओब्रायन
कोनन्ले वार्षिक १ करोड २० लाख अमेरिकी डलर तलब लिन्छन् । उनी टीबीएसमा काम गर्छन् । सन् २०१४ मा उनले ५ वर्षे सम्झौता गरेका हुन् । उनले ‘कोनन्’ नामको सो चलाउँदै आएका छन् । 
रोबिन रोबर्टस 
एसीबीको ‘गुड मर्निङ अमेरिका’ की ‘को–होस्ट’ रोबिनले केही वर्षमै आफ्नो तलब उच्च बनाउन सफल भएकी छिन् । उनको अहिलेको तलब १ करोडदेखि १ करोड ४० लाख अमेरिकी डलरको हाराहारीमा रहेको छ । उनले सन् २०१३ मा जम्मा ६० लाख अमेरिकी डलर तलब लिन्थिन् । 
सेफर्ड स्मिथ
सेफर्ड स्मिथले फक्स न्युजसँग सन् २०१३ मा बहुवर्षीय सम्झौता गरेका छन् । उनले १ करोड अमेरिकी डलर तलब पाउँछन् । नयाँ सम्झौतापछि उनको पहिलेको भूमिका परिवर्तन भई फक्स न्युजको ब्रेकिङ न्युज व्यवस्थापनको जिम्मेवारी पाएका छन् । उनी ‘सेफर्ड स्मिथ रिपोर्टिङ’ चलाउँछन् । 
चेल्सी हेन्डलर 
चेल्सी हेन्डलर नेटफ्लिक्समा जागिरे भएपछि १ करोड डलर तलब पाउने भएकी छिन् । ‘ई इन्टरनेटमेन्ट टेलिभिजन’ (जसलाई ‘ई’ च्यानलका रूपमा समेत चिनिन्छ) लाई नेटफ्लिक्समा प्रवेश गरेसँगै उनको पारिश्रमिक बढी भएको हो । उनले नेटफ्लिक्समा विभिन्न कमेडी स्पेलस कार्यक्रम र टक सोसमेत चलाउँछिन् । पहिले उनले ८० लाखदेखि १ करोड २० लाख डलरसम्म पाउने गरेको अनुमान गरिएको थियो । उनी १५ औं नम्बरकी बढी तलब पाउने टीभी सेलिब्रेटी हुन् ।
जर्ज स्टाफनओपुलस 
सर्वेक्षणमा एन्डरसनपछि धेरै तलब पाउने देखिएका जर्जको तलब १ करोड डलर रहेको बताइन्छ । उनी एबीसी टीभीमा ‘गुड मर्निङ अमेरिका’ कार्यक्रम चलाउँछन् । उनले सन् २०१४ मा प्रसारकसँग सम्झौता नवीकरण गरेका छन् । ‘टीभी गाइड’ का अनुुसार उनले पाँचवर्षे सम्झौता गरेका हुन् । 
एन्डरसन कुपर 
भेराइटीको सर्वेक्षणमा एन्डरसन कुपर उच्च पारिश्रमिक पाउने टीभी सेलिब्रेटीमा १७औं नम्बरमा आउँछन् । उनको तलब ९० लाखदेखि १ करोड १० लाखबीचमा रहेको अनुमान छ । उनले सन् २००३ देखि सीएनएनमा ‘एन्डरसन कुपर–३६०’ कार्यक्रम चलाउँदै आएका छन् ।

Post a Comment

Powered by Blogger.