प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन हुनेमा कुनै शंका नगर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
मंगलबार दिउँसो निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले स्थानीय निर्वाचन हुने र गर्नैपर्ने भन्दै शंका नगर्न आग्रह गरेका हुन् । ‘निर्वाचनसम्बन्धी ऐन पारित भइसकेका छन् । सरकार निर्वाचन तयारीमा लागिरहेको छ' उनले भने, 'अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ ।’
उनले नेपाली जनता प्रविधि प्रयोगमा सक्षम भइसकेको बताए । ‘यसपाली म देशका विभिन्न भागमा पुगें, दुर्गम ठाउँका जनताले पनि सेलफोन बोक्न थालिसकेका छन्' उनले भने, 'अब नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलत हो ।' निर्वाचन शिक्षालाई प्रभावकारी बनाउनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले सेलफोन बोक्ने नेपालीले विद्युतीय मेसिनलाई हाउगुजी नठान्ने बताए । निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनका विशेषताबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विद्युतीय भोटिङ मेसिनले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कम खर्चिलो हुने भन्दै आयोगले सरकार र व्यवस्थापिका–संसदले दिने निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोग तयार रहेको बताए ।
कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि लगायतले विद्युतीय भोटिङ मेसिनका प्राविधिक पक्षबारे जानकारी लिएका थिए ।
Post a Comment