Halloween party ideas 2015

आठ बुँदे सहमतिपछि मंगलबारबाट गाविस सचिवहरु काममा फर्केका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारी, राष्ट्रियस्तरका ट्रेड युनियनहरुका पदाधिकारी र गाविस सचिव हकहित संरक्षण केन्द्रका पदाधिकारीबीच ८ बुँदे सहमति भएपछि उनीहरु काममा फर्केका हुन् । गाविस सचिवले काम थालिसकेको सामरीका गाविस सचिव सन्दीप तिवारीले बताए ।
सहमतिपछि सचिवहरुले सेवाग्राहीका नागरिक सिफारिस, मालपोतको तिरो, जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस पत्र लगायतका काम थालेका छन् । सहमतिका भएका बुँदाहरुमा स्थानीय तह निर्वाचनको लागि सरकारलाई अनुरोध गर्ने, प्रोत्साहन भत्ता चालु आर्थिक वर्ष साउनदेखि पाउने गरी प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाउने, स्थानीय, प्रदेश र संघीय तहमा कर्मचारी समायोजन र सो सम्बन्धी कानुन निर्माण एवं संशोधन गर्दा आधिकारिक ट्रेड युनियनले पहल गर्ने छन् ।
त्यस्तै संक्रमणकालीन व्यवस्थापनअन्तर्गत गाउँपालिका वा नगरपालिकामा समाहित हुने गाविसका सचिवहरु सम्बन्धित गाउँपालिका वा नगरपालिकाभित्र काम गर्ने व्यवस्था मन्त्रालयले गर्ने, गाविस सचिवको रुपमा कार्यरत रहेका कर्मचारीलाई निजामति सेवा ऐन, नियमावलीबमोजिम १५ दिनभित्र मापदण्ड बनाई चरणबद्ध अनेत्र सरुवा भएर जान र आउन सहमति दिने, कर्मचारीका सेवा सर्त अध्ययन गर्ने विषयमा गठन हुने मन्त्रालयस्तरीय अध्ययन गर्न आधिकारिक ट्रेड युनियनको प्रतिनिधि सदस्य रहने, माघ १२ गते दिन सुनसरीमा गाविस सचिवमाथि भएको दुर्व्यवहार जस्ता घटना हुन नदिन गृह मन्त्रालयमार्फत सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई पत्राचार गर्ने सहमति भएको छ ।
सहमतिपछि बन्दका सबै कार्यक्रम फिर्ता लिई सेवाप्रवाहमा फर्किएका छन् । जिल्लामा ६१ गाविस र १ नगरपालिका छन् । गाविस सचिवहरु प्रोत्साहन भत्ता, शान्ति सुरक्षाको माग गर्दै एक सातादेखि आन्दोलनमा उत्रेका थिए । 

Post a Comment

Powered by Blogger.