सरकारले भूकम्पपीडितलाई खुला गरेको १५ सय ट्याक्सीका लागि आवेदन दिनेहरूको अन्तिम नामावली तयार गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले १ लाख ४८ हजार आवेदकको नामावली तयार पारेको बताए । विभागले यो नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । ‘सफ्टवेयरमा राखिसकेका छौं,’ उनले भने, ‘किताब तयार गरी भूकम्प प्रभावित जिल्लामा पनि आवेदकको नाम पठाउँछौं, नाम दोहरिए/नदोहोरिएको हेरेर अन्तिम रुजु गरी सम्बन्धित जिल्लाले पठाएपछि गोलाप्रथाद्वारा ट्याक्सी नम्बर वितरण प्रक्रिया अघि बढाउँछौं ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न साउन ५ देखि आवेदन माग गरेको थियो । कम्प्युटरमा अभिलेख गर्नु परेकाले ढिलाइ भएको पाण्डेको भनाइ छ । २०७२ जेठ २८ मा मन्त्रालयले भूकम्पपीडितलाई ट्याक्सीको अनुमति दिने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीको दबाबले मन्त्रालय र यातायात व्यवस्था विभागले उक्त निर्णय कार्यान्वयनमा ढिलाइ गरेका थिए ।
दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ । ट्याक्सीमा भन्सार छुट तथा कुनै पनि सहुलियत भने नभएको प्रवक्ता पाण्डेले बताए । पीडित आफैं सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने र एकजनाले एकभन्दा बढी आवेदन दर्ता गर्न नपाइने पनि उनले बताए । उनका अनुसार बढी आवेदन परेकाले गोलाप्रथाद्वारा छनोट गरिनेछ ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिका पालामा ३३ सय ५० नयाँ ट्याक्सी थप्ने निर्णय भएको थियो । त्यसमध्ये सर्वसाधारणलाई ७ सय, यातायात व्यवसायीलाई ६ सय ५० र ट्याक्सी चालकलाई ५ सय नयाँ ट्याक्सी दिने निर्णय भएको थियो । सर्वसाधारण, यातायात व्यवसायी र ट्याक्सी चालकले गोलाप्रथाबाट ट्याक्सी प्राप्त गरिसकेका छन् । नयाँ ट्याक्सी थप्दा भाडादर र ट्याक्सीको मूल्य घट्ने भन्दै भूकम्पपीडितका नाममा थप ट्याक्सी नभित्र्याउन ट्याक्सी व्यवसायीले दबाब दिँदै आएका थिए । विभागका अनुसार उपत्यकामा हाल ७ हजार ट्याक्सी छन् । तीमध्ये ५६ सय ५० पुराना र १८ सय ५० नयाँ ट्याक्सी छन् । दिउँसो प्रतिकिमि ३५ रुपैयाँ र राति प्रतिकिमि ५४ रुपैयाँ ट्याक्सी भाडा व्यवसायीले असुल्ने गर्छन् । उपत्यकामा १ लिटर पेट्रोलले २२ किमि ट्याक्सी गुड्छ ।
Post a Comment