नेपाल बहुउद्धेशीय सहकारी संस्था (एनएमसी) काकरभिट्टाले आफ्नो नियमित कारोबारमा कुनै असर नपर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले सिमित बैकिङ कारोबारको ईजाजत रद्द गरेको सुचना प्रकाशित गरेपछि आफ्ना सदस्यहरुलाई आश्वास्त पार्न एनएमसीले हिजो गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुलाई जानकारी दिदैं एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारी संस्थाले हाल गरिरहेका सबै खाले कारोबार नियमित सञ्चालन हुने र हल्लाको पछि नलाग्न बताउनु भयो ।
राष्ट्र बैंकले दिएको ईजाजत पत्र अनुगमन र मार्गनिर्देशन तहको मात्र रहेकाले एनएमसीले त्यो ईजाजतले कुनै थप कारोबार नगरेकाले त्यस्तो ईजाजत रद्द हुँदा एनएमसीको नियमित कारोबारमा कुनै असर नगर्ने अध्यक्ष उप्रेतीले बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले राष्ट्र बैंकले सहकारीको अनुगमनबाट अलग हुने रणनीती लिएकाले पनि एनएमसीको ईजाजत रद्द गरेको बताउनु भयो । देशभरबाट ३७ वटा सहकारी संस्थाले राष्ट्र बैंकको ईजाजत लिएको भए पनि अब १४ वटा संस्थाको मात्र ईजाजत कायम रहेको र ती सहकारीहरुको पनि ईजाजत राष्ट्र बैंकले रद्द गरेर सहकारी संस्थाबाट अलग हुने उपाध्यक्ष उप्रेतीले दाबी गर्नु भयो ।
एनएमसी आर्थिक रुपमा मात्र बलियो रहेकाले राष्ट्र बैंकले सिमिति बैंकिङ कारोबारको ईजाजत रद्द भए पनि सहकारी ऐन र नियमबाट झन सहज रुपमा अगाडी बढ्ने संस्थाका सञ्चालक समिति सदस्य ठाकुर शिवाकोटीले बताउनु भयो ।
राष्ट्र बैंक र सहकारी ऐन बिच केही बिषयमा कुरा नमिल्ने ब्यवस्था थियो । एनएमसी सहकारी ऐन अन्तरगत सञ्चालित भएकाले सहकारी कै ऐन अनुसार चल्ने हुँदा अब राष्ट्र बैंकको ईजाजत एनएमसीका लागि आवश्यक नरहेको अर्का सञ्चालक श्रीप्रसाद मैनालीले बताउनु भयो ।
एनएमसी हिजो जसरी चलेको छ आज पनि त्यसरी नै चल्ने र भोली पनि झन बलियो बन्दै जाने गरी सञ्चालन हुने र कुनै हल्लाको पछि नलागी नियमित कारोबार गर्न सञ्चालक सदस्य नारायण कोईरालाले सबै सदस्यहरुलाई आव्हान गर्नु भएको छ ।
Post a Comment