
जेठ २६ गते अपहरणमा परेका दाङका व्यापारी राजकुमार श्रेष्ठको २९ गते नै हत्या भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए। उनका अनुसार एक युवती र दुई जना भारतीय नागरिकले श्रेष्ठलाई अपहरण गरी सल्यान पुर्याएको अनुसन्धानबाट खुलेको छ।अपहरणमा परेका तेस्रो दिनमै दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या भएको खुलेको छ।प्रहरीले सल्यानको पाथिभरास्थित जंगलमा श्रेष्ठको शव फेला पारेको छ।
‘अपहरणकारीले सल्यानको पाथिभरा लेकस्थित घनघोर जंगलमा उनको हत्या गरेका थिए,’ ती प्रहरी अधिकृतले भने, ‘हत्यापछि अपहरणकारीले ढुंगै ढुंगाले थिचेर श्रेष्ठको शव जंगलको गुफाजस्तो ठाउँभित्र लुकाएका रहेछन्।’
अपहरण भएको भोलिपल्ट श्रेष्ठको कार हावा खुस्काएको अवस्थामा रिम जंगलमा भेटिएको थियो। श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरुको टोली खटेको थियो।
टोलीले अनुसन्धानका क्रममा अपहरणकारीलाई सहयोग पुर्याउने पाँच जनालाई पक्राउ गरेको छ।अपहरणकारीका मुख्य नाइके र घटनामा प्रयोग भएको युवतीको पहिचान भए पनि उनीहरुलाई अझै पक्रन नसकेको प्रहरीले बताएको छ।
श्रेष्ठको हत्यापछि अपहरणकारीको नाइके र युवती भारततर्फ भागेको प्रहरीले जनाएको छ। व्यापारी श्रेष्ठसँगै सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ।
Post a Comment