Halloween party ideas 2015


वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्न दलहरु आन्तरिक तयारीमा व्यस्त छन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपासहित दलहरु निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा जुटिसकेका छन् । झापाको पाँच नगरपालिकाका लागि नेकपा एमालेले मेयर र उपमेयरको उम्मेद्वारीका लागि नाम सिफारिस गरेको छ । पार्टीको केन्द्रीय नीति अनुसार वैशाख ३ गते नगरबाट जिल्लालाई उम्मेद्वारीको नाम सिफारिस गरिएको हो । मेचीनगर कमिटीले मेचीनगर नगरपालिकाको मेयरमा विष्णु प्रसाई, गोपालचन्द्र बुढाथोकी, शारदा शर्मा घिमिरेको नाम सिफारिस गरेको छ । यस्तै, उपमेयरका लागि आइतबार छलफल भएपनि सिफारिसका लागि नाम टुंगो लाग्न सकेन । दमक नगरपालिकाको मेयरका लागि रोमनाथ ओली, होम थापा, केन्द्र प्रसाई, अम्बिका खनाल र इन्द्र भण्डारीको नाम सिफारिस गरिएको छ । यस्तै उपमेयरका लागि लीला ढुंगेल, नेत्रकुमारी धिमाल र सुमित्रा भण्डारीको नाम सिफारिस गरिएको स्थानीय नेताले जानकारी दिए । यसैगरी अर्जुनधाराको मेयरको लागि एमाले नगर कमिटीले कुन्दन भट्टराई, हरि राना र प्रेमसागर सापकोटाको नाम सिफारिस गरेको छ । उपमेयरका लागि कमला आचार्य, कमला भण्डारी र देवीमाया भट्टराईलाई सिफारिस गरिएको बताइएको छ । शिवसताक्षीको मेयरका लागि स्थानीय पार्टी कमिटीले ११ जनाको नाम सिफारिस गर्दै जिल्लामा पठाएको छ । तीन जनाको नाम मात्र पठाउनु पर्ने भएपनि शिवसताक्षीले ११ जनाको नाम पठाएको हो ।सिफारिसमा होम गौतम, राधाकृष्ण खनाल, कमल लामिछाने, गणेश राजवंशी, चन्द्र शेर्मा, डिल्लीरमण खतिवडा, धनबहादुर थेवे, बेनु कार्की, मेगाहाङ थोप्रा, रामचन्द्र दाहाल र श्रीप्रसाद खरेल सिफारिसमा परेका छन् । सो नगरपालिकाको उपमयेरका लागि नरमाया कार्की, भोजकुमारी नेपाल, मनमाया तिवारी र यसोदा विमलीलाई सिफारिस गरिएको छ । नगर कमिटीले सिफारिस गरेको नाम जिल्लामा पठाईएको छ ।एमाले झापा जिल्ला कमिटीले ती नाम प्रदेश कमिटीमा सिफारिस गरेपछि प्रदेश कमिटीले अन्तिम नामावली टुंगो लगाउने नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । भद्रपुरमा जीवन श्रेष्ठ र असारु राजवंशीको नाम चर्चामा छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा झापामा नेकपा एमालेले कब्जा गरेको थियो । सो निर्वाचनमा जिल्लाको तीन नगरपालिकामध्ये दुई नगरपालिकामा एमालेले जितेको थियो । दमकमा रोमनाथ ओली र मेचीनगर नगरपालिकामा रविन कोइराला मेयर निर्वाचित भएका थिए । यता भद्रपुर नगरपालिकामा भने सद्भावना पार्टीका तर्फबाट भारतेन्दुकुमार मल्लिक विजयी भएका थिए । 
२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा एमालेले जिल्लाको ३५ गाविसमा अध्यक्ष जितेको थियो । यसैगरी, नेपाली कांग्रेसले ६ वटा गाविस, सद्भावनाले तीन र राप्रपाले एक गाविसमा अध्यक्ष जितको थियो । अघिल्लो निर्वाचनमा एमालेले राम्रो परिणाम ल्याउनुमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले गरेको कामलाई कारण मान्न सकिन्छ ।

Post a Comment

Powered by Blogger.