कम्प्युटरद्वारा सञ्चालित हेज फन्डले लन्डन स्टक मार्केटमा मानव दिमागले भन्दा बढी प्रतिफल दिएको समाचारले अहिले सेयर बजार र लगानीमा नयाँ क्षितिज खुलेको चर्चा चुलिएको छ । सन् २०१६ मा कम्प्युटर अल लग्रिथम प्रोग्राममा सञ्चालित २० वटा हेज फन्डहरूले उत्कृष्ट काम गरी प्रतिफल दिन सक्षम भएको तथ्य आएपछि प्रविधिले लगानीमा अरू विश्वास जित्ने अपेक्षा छ ।
हेज फन्ड मानिसहरूको पैसा संकलन गरी उपयुक्त लगानीमार्फत प्रतिफल दिन खोलिने कम्पनी हो । बेलायतको स्टक मार्केटमा सीधै व्यक्तिले लगानी गर्नुभन्दा उपयुक्त हेज फन्डको इतिहास र काम कारबाही हेरी मानिसले छानेर लगानी गर्ने प्रचलन छ । हेज फन्डमार्फत ठूलो रकम सेयर बजारमा लगानी गर्ने पनि छन् जसले स्टक मार्केटमा प्रभाव पार्न पनि सक्छ ।
सन् २०१६ मा भएका दुई प्रमुख घटनाक्रम ब्रेक्जिट र डोनाल्ड ट्रम्पको विजयले लन्डन सेयर बजार उत्साहित गराउन सफल रह्यो । कमजोर पाउन्डको विनिमय दरका कारण लन्डन स्टक मार्केटका ठूला सय कम्पनीको सेयर सूचांक ७ हजार अंकभन्दा बढी हुने क्रम जारी छ ।
ठूला १ सय कम्पनीको सेयर अंक सात हजारको घेरा नाघेपछि मनोवैज्ञानिक हिसाबले लगानीकर्तामा अरू उत्साह आउने गरेको विश्लेषकहरूले बताउँदै आएका छन् ।
ब्रेक्जिटलगत्तै लन्डन स्टक मार्केटको ठूला सय कम्पनीको सेयर सूचांक एकदमै तल झरे पनि गत अक्टोबरमा पाउन्ड स्टर्लिङको भाउमा भारी गिरावटले निर्यात बढाई अरू प्रतिस्पर्धी भयो र बेलायत बाहिर यी कम्पनीले आर्जन गरेको सम्पत्तिको मूल्य बढी हुनाले स्टक मार्केट बढ्ने क्रम जारी छ । स्टक मार्केटको सूचांक कम हुने बित्तिकै लोभले आत्तिएर सेयर बेच्नेभन्दा राखिरहनेले सेयर मार्केट स्थिर र पछि सेयर भाउ पुन: ठीक भएपछि नोक्सान नहुने पाइएको छ ।
बेलायत ईयू बहिर्गमन (ब्रेक्जिट) मत आसपासमा गरेको लगानी वर्षको सुरुवातभन्दा राम्रो भएको छ । जसले आत्तिएर आफ्नो सेयर बेचेका थिए, उनीहरूले अहिले धेरै नोक्सान व्यहोर्नुपरेको छ । धेरै सेयर र स्टक मार्केटका फन्डहरू मध्यमदेखि लामो समय अवधिका लगानीकर्ताहरूलाई पुँजीगत मूल्य बढाउनुका साथै प्रतिफल दिने लक्ष्य राखेका हुने लन्डनस्थित अर्थ व्यवस्थापनका एकजना जानकार विकलचन्द्र आचार्य बताउँछन् ।
सन् २०१६ वर्ष लन्डन स्टक मार्केटको ठूला सय कम्पनीको (फुटसी १ सय) औसत लाभांश करिब ३ दशमलव ७ प्रतिशत रहेको चर्चा गर्दै आचार्यले सेयर बजारमा तीन गुणा हुने आम्दानीको जोखिमबाट डराएर वा थाहा नपाएर धेरै बेलायतका बचतकर्ताहरूले १ प्रतिशतभन्दा पनि कम प्रतिफल आउने बैंक खातामा आफ्नो पैसा राखिरहेका बताए ।
राम्रो आर्थिक निवृित्तको योजनादेखि अनेकौं प्रतिफलको प्रलोभनमा स्टक मार्केटमा लगानी गरिन्छ । मध्यमदेखि लामो समयको लगानीमा ध्यान दिए नोक्सान हुने कम सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । उतारचढावको डरका साथै सेयरको मूल्य घट्न सक्ने यथार्थ त हमेसा हुन्छ ।
सन् १८०१ मा आधुनिक लन्डन स्टक मार्केटको स्थापना गरिए पनि यसको इतिहास सन् १५७१ मा रानी एलिजावेथ प्रथमले रोयल एक्सचेन्ज भनेर उद्घाटन गरेपछि नै सुरु भएको ठानिन्छ । ६ ट्रिलियन (६ हजार अर्ब) पाउन्डभन्दा बढी जम्मा सेयरको मूल्य रहेको लन्डन स्टक मार्केट अमेरिकाको डाओ जोन र नास्डाकपछि संसारको तेस्रो ठूलो बजार हो । यहाँ दिनमा औसत करिब ६ अर्ब पाउन्ड मूल्यको सेयर कारोबार हुने गर्छ । यसमा ६० भन्दा बढी मुलुकका तीन हजारभन्दा बढी कम्पनी सूचीबद्ध छन् ।
Post a Comment