
मोरङ l सधैं ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका डायनीय ९ सहिदगन्जका ६० वर्षीय सतिरन खातुनको खुसीले आइतबार खुट्टा भुइँमा थिएन । उनका आँखामा हर्षका आँसुले डुबुल्की मारिरहेको देखिन्थ्यो । ‘मैले सोचेको पनि थिइनँ, यो जुनीमा मेरो पनि टिनको छाना भएको घर हुन्छ भनेर,’ उनले भनिन्, ‘आजबाट मैले फुसको झुपडीबाट मुक्ति पाएँ ।’ फलामको खम्बामाथि जस्तापाताको छाना हालेर बाँसको टाटीमा प्लास्टर गरी रंगरोगन गरेर चिटिक्कको २ कोठे घरमा ६५ वर्षीया बिरामी श्रीमान्सहित सतिरन पसेकी छन् । यो सबै सम्भव त्यस बेला भयो, जुन बेला काठमाडौंस्थित नेपाल डेभलपमेन्ट सोसाइटीले घर निर्माणका लागि सहयोगी मनहरू जुटायो । ‘कुवेतको दातृ संस्था रहमा इन्टरनेसनल’ आर्थिक सहयोग र सोसाइटीको समायोजनामा प्रतिपरिवार १ लाख ५० हजार लागतको घर निर्माण गरिएको हो । १५ लाख लागतमा मदरसा, ४० लाखमा मस्जिद र आयआर्जनका लागि सामग्री उपलब्ध गराउनुका साथै २० वटा घर बनाइदिएको छ । इन्टरनेसनलका दक्षिण एसियाली क्षेत्र निर्देशक मो. जासिर अल कसारले आइतबार सुकुम्बासी परिवारलाई घर, मस्जिद र मदरसा गाउँवासीलाई हस्तान्तरण गरे । सुकुम्बासीका लागि घरमा आवश्यक ओढ्ने, ओछ्याउने, भाँडाकुँडा, कपडालगायत सम्पूर्ण सामग्री दिएको छ । घरसहित अन्य सामग्रीसमेत पाएका मो. आविदको पनि खुसीको सीमा थिएन । जीवनमा आफ्नो कमाइले नहुने घरलगायत सामग्री पाउँदा खुसी देखिए । उनीसँगै बुहारीले माइतीमा सिकेको सीप घरमा नै बसेर उपयोग गरी आयआर्जन गर्न सक्ने भएको थियो । आर्थिक अभावमा सिलाइ मेसिन खरिद गर्न नसक्ने उनलाई संस्थाले १ थान उपलब्ध गराएको छ । उनीहरूजस्तै सहिदगन्जवासी खुसियाली मनाइरहेको देखिन्थे । उनको गाउँमा सुकुम्बासी २० परिवारलाई २ कोठेजस्ताको छाना हालेको घर, आवश्यक सम्पूर्ण सामग्री, बालबालिकालाई पढ्ने मदरसा र धर्म मान्न मस्जिद, खानेपानीका लागि ट्युबवेल, रोजगारीका लागि गाई, ठेला, १२ थान सिलाइ मेसिन हस्तान्तरण गरिएको थियो । तीन महिना अवधिमा सहिदगन्जको मुहारै फेरिएको छ । भदौमा बक्राहा खोलाको बाढीले गाउँको ऐलानी जग्गामा रहेको सुकुम्बासी बस्तीलगायत टोलवासीलाई घरबारविहीन बनाएको थियो । स्थानीय मो. रसिदले आफ्नो सामथ्र्य भएकाले जोरजाम गरेर घर बनाएको तर २० घर सुकुम्बासी परिवार झुपडीमा जीवन गुजार्न बाध्य भएको बताए । ‘दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्ने उनीहरू काममा नगएको दिन भोकै बस्ने बाध्यात्मक अवस्था र त्यसमाथि घर बनाउने चिन्ताले सताएको थियो,’ उनले भने, ‘गाउँमा स्वास्थ्योपचारका लागि आएका डा. सरिफलाई उनीहरूको दु:ख असह्य भएको महसुस भयो ।’
Post a Comment