
मतगणना सम्पन्न हुन समय लाग्ने भएकाले विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले थप दुई साताका लागि बिदा घोषणा गर्नु परेको छ । यसले गर्दा शैक्षिक क्लालेन्डरअनुरुप निर्धारित विद्यालयको २१ असारको जाँच र नयाँ भर्ना प्रभावित भएको छ । सरोकारवालाहरुले महानगरपालिकाको भोट गन्नलाई यहाँकै सबैभन्दा ठूलो, प्रतिष्ठित एवं सुरक्षित उक्त विद्यालयलाई छानेको हो । मतदान केन्द्रसमेत तोकिएको कारणले उसै पनि उक्त विद्यालयलाई ११ असारदेखि साताभरिका लागि बन्द गरिएकै थियो ।
यस्तो माहोलमा पढाइ गराउन नसकिने हुनाले कहिलेदेखि विद्यालय सञ्चालन गर्दा ठीक हुने सम्बन्धमा शनिबार निर्वाचनमा संलग्न न्यायाधीश, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठक बसेको थियो । विद्यालयका थप शिक्षकहरुसमेत परिचालन गरी चाँडै मतगणना सकाउने अनुमानअनुरुप १ साउनसम्मका लागि विद्यालय छुट्टी गर्ने निर्णय लिइएको थियो । अहिले पनि उक्त विद्यालयका दैनिक ४/५ शिक्षक गणनामा सहभागी भइरहेका छन् । निर्वाचन कार्यालयले विद्यालयसँग शिक्षकको थप टोली मागेको छ ।
गर्मी बिदामा समायोजन गर्ने गरी थप दुई साताका लागि विद्यालय बन्द गरिएको हो । विद्यालयले पहिलो त्रैमासिक जाँच सकिएपछि वर्षेनी १७ दिने गर्मी बिदा गर्दै आएको थियो । यो बाध्यात्मक निर्णयका कारणले स्रोत केन्द्रले २१ असारदेखि लिने भनिएको कक्षा ४ देखि १० सम्मको पहिलो त्रैमासिक परीक्षा, विद्यालयले एघार कक्षा र प्राविधिक शिक्षामा लिइने नयाँ भर्ना प्रभावित भएको सहप्राचार्य पोखरेलले बताए ।
अन्य विद्यालय एवं स्रोत केन्द्रसँग सल्लाह गरेर साउन दोस्रो सातातिर जाँच सार्ने विद्यालयको सोच छ । छुट्टी गर्नुपर्ने साउने झरीको बेलामा यसपटक विद्यालय लगाउँदा भने अप्ठेरो पर्ने उनले औंल्याए । उक्त विद्यालयमा शिशुदेखि १२ कक्षासम्म १ हजार ४ सय विद्यार्थी पढ्छन् । विद्यालयमा प्राविधिक एसएलसी, कम्युटर इन्जिनियरिङमा स्नातक र दस जोड दुईमा विज्ञान, शिक्षा एवं व्यवस्थापन विषयको समेत पढाइ हुन्छ । माध्यमिक शिक्षा परीक्षा, एसईई उत्तीर्णको हकमा ९ असारदेखि विद्यालयले नयाँ भर्नाका लागि फारम वितरण गरेर एक लट प्रवेश परीक्षा समेत गरिसकेको छ ।
बालबालिकाको पढाइ चौपट हुने कारण देखाइ अघिल्तिरकै रंगशालाको कभर्ड हल वा छेउकै वीरेन्द्र सभागृहलाई मतगणनास्थल बनाउन विद्यालयले आग्रह पनि गरेको थियो । तर, निर्वाचन कार्यालयले जिल्ला शिक्षा कार्यालयका अधिकारीमार्फत उक्त विद्यालयका व्यवस्थापनलाई ठाउँ उपलब्ध गराउन दबाब दिएको थियो ।
अहिलेका लागि पढाइभन्दा मतगणना जरुरी भएको भन्दै सरोकारवाला पक्षहरुले आफूलाई नसोधिकनै कक्षाकोठाको डेस्क र बेन्च मिलाउन सुरु गरिसकेको विद्यालयका प्राचार्य दूर्गाप्रसाद चूँडालले बताए । मोरंगका जिल्ला शिक्षा अधिकारीले समेत मतगणनाका लागि विद्यालय उपलब्ध गराउन भनेपछि आफूले अस्वीकार गर्न नसकेको उनले बताए ।
उक्त विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं कांग्रेसका मेयर पदका प्रत्यासी भीमप्रसाद पराजुलीले समेत चाँडो गणना सकाउने आश्वास दिएको प्राचार्य चूँडालले प्रस्ट्याए । ‘फराकिलो एवं सुरक्षाको दृष्टिकोणले सहज भएर उनीहरुले यो विद्यालयलाई मतगणना थलोको रुपमा छानेको हुनुपर्छ,’सहप्राचार्य पोखरेलले भने,‘तर विद्यार्थीको हितमा ठीक भएन ।’
दोस्रो संविधानसभा निर्वाचनको मतगणना पनि यही विद्यालयमा भएको थियो । मतगणनाको गति हेर्दा यो बिदाको अवधिमा सकिएला जस्तो छाँटकाँट नदेखेर विद्यालयका प्राचार्य चूडाल भने चिन्तित छन् ।‘यसोउसो गरेर जाँच र पढाइ मिलाउन सकिन्छ भनेर थप दुई साता छुट्टी गरेका हौं,’उनले भने,‘२ साउनदेखि त नलगाएमा विद्यालय र बच्चाबुच्चीको बिजोग हुन्छ ।’ अन्यत्रजस्तो कुनै खाले विवाद नभइ चाँडो गणना समापनको चूडालले कामना गरिरहेका छन् । यसरी विद्यालय बन्द गरिंदा नयाँ शैक्षिक सत्रमा एघार कक्षामा सयजना पनि विद्यार्थी नपुग्ने उनले चिन्ता व्यक्त गरे । गतवर्ष यहाँ एघार कक्षामा २ सय विद्यार्थी भर्ना भएका थिए ।
विद्यालयको प्रवेश ढोकाहरु भएकै उत्तर र दक्षिण मोडबाटै मतगणनालाई ध्यानमा राखेर आवागमन बन्द गरिएकाले नयाँ भर्ना फारम लिन आउने विद्यार्थीलाई समेत कठिन भएको छ । निर्वाचन कार्यालयको परिचय कार्ड नभएकाले विद्यालय परिसरमा प्रवेश समेत गर्न पाउँदैनन् ।
मतगणना नभइरहेको उत्तरतिरको भवनबाट विद्यालयले आफ्नो दैनिक प्रसासन सञ्चालन गरिरहेको छ । नयाँ भर्ना फारम लिन आउने अभिभावक एवं विद्यार्थीलाई अप्ठेरो भइरहेको हुनाले उत्तरतिरको प्रहरी ब्यारिकेडलाई अलिक पछिल्तिर सार्न विद्यालयले आग्रह गरेको छ ।
महत्वपूर्ण सरकारी शैक्षिक संस्था, अदालत, मालपोत, जिल्ला प्रसासन कार्यालय, अस्पताल र रंगशाला रहेको यस क्षेत्रमा निजी एवं सार्वजनिक सवारी साधनको आवागमनमा रोक लगाइएको छ । उक्त क्षेत्रमा सुरक्षाको कडा बन्दोबस्ती छ । अरुबेला स्थानीय र आगन्तुक दुवैले सजिलै र कम समयमा यी महत्वपूर्ण गन्तव्यमा पुग्नलाई यही मार्गको प्रयोग गर्छन् ।
Post a Comment