राजधानीमा बिहीबारदेखि नेपाल छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान औपचारिक समारोहकाबीच उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा पुर्वाधार सम्पन्न अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिवद्धता जनाए ।
प्रदर्शनी केन्द्रको दुरावस्था रहेको तथा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल नभएको भन्ने निजी क्षेत्रबाट आएको गुनासोलाई सम्बोधन गर्ने गरी आफुले तत्काल त्यसतर्फ पहलकदमी अघि बढाउने प्रतिवद्धता प्रधानमन्त्री दाहालले जनाए । उनले राजनीतिक स्थिरता, एकता र निजी सार्वजनिक सहकार्यको सकारात्मक वातावरण बनाउने विषयमा पनि सरकार दृढ रहेको स्पष्ट पारे । प्रधानमन्त्री दाहालले नेपालबाट उत्पादन हुने तुलनात्मक लाभका बस्तुहरुको विश्व बजारमा प्रवर्द्धन गर्न मेलाले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
नेपालमा रहेको श्रोत साधनको प्रचुर्यता र लगानी सम्भाव्यताका साथै नयाँ बस्तु उत्पादन विस्तार, रोजगारी सृजना, मुलुकको निर्यात वृद्धि र नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा समेत मेलाले सहयोग पुर्याउने आशा व्यक्त गरे । मेला उद्घाटन समारोहमा आयोजक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले प्रदर्शनीका लागि सुविधा सम्पन्न पुर्वाधारयुक्त प्रदर्शनी केन्द्र नभएका कारण कतिपय इच्छुक विदेशी व्यवसायीलाई फर्काउनुपरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
अध्यक्ष मुरारकाले व्यवसायिक सम्बन्ध विस्तार, व्यवसायीक सम्झौता गर्ने, व्यवसायीक प्रवर्द्धन र सहकार्य सुरु गर्ने उपयुक्त अवसरको रुपमा मेलालाई हेरिएको उल्लेख गरे । भृकुटीमण्डपमा सुरु भएको छैटौ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत ७ गतेसम्म चल्ने छ । ५ लाख अवलोकनर्ताले अवलोकन गर्ने अनुमान गरिएको मेलाबाट २० करोड बढीको कारोबार हुने अनुमान आयोजकले गरेका छन् ।
मेलामा स्वदेशी एवम् विदेशी बस्तु तथा सेवाको हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका ३ सय ४० स्टल छन् । नेपाली जडीबूटीका उत्पादनहरुका ३५ वटा स्टल छन् । महासंघको कृषि उद्यम केन्द्र अन्तर्गतको हिमाली आयोजनाका ७० वटा स्टल मार्फत कृषि उत्पानहरुको प्रदर्शनी पनि गरिएको छ । मेलाको मुख्य आकर्षण जडिबुटी र उच्च हिमाली भेगका कृषि उत्पादन रहेका छन् । मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीको सहभागिता छ ।
Post a Comment