Halloween party ideas 2015



बार्सिलोना । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत युरोप आउने भएका छन्। बेल्जियम र लक्जेम्वर्ग भ्रमणका लागि मन्त्री महत यसै साता ब्रसेल्स आउन लागेका हुन्। परराष्ट्रमन्त्री डा. महत आउने भएपछि गैरआवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गर्दैछ।
परराष्ट्रमन्त्री नै आउने भएपछि कुनै देशमा अन्तरक्रिया तथा डिनरको चासो बढ्छ भने,दूतावासको माग गर्दै आएका मुलुकहरुमा भने उही ज्ञापनपत्रको चाँजोपाजो मिलाउन ब्यस्त देखिन्छन्। प्रमुख राजनीतिक दलका नेताहरु आउँदा होस् वा मन्त्री,सभासद आउँदा ज्ञापनपत्रको तयारी गर्नुपर्ने बाध्यता यहाँका नेपालीहरुको छ।
‘सधैँ सकारात्मक छौँ’ भन्ने मन्त्रालयको जवाफ पाएर निराश बनेका नेपालीहरु समेत परराष्ट्रमन्त्री नै युरोप आएका बेला केही हुन्छ कि भन्नु स्वाभाबिक नै हो। सम्बन्धित निकायबाट पटक-पटक बेवास्ता भए पनि दूतावासका लागि पुन: पहल गर्न यहाँका नेपालीहरुले कुनै कसर बाँकी राखेका छैनन्।
त्यसो त सन् २०१४ मा डा. महतले स्पेन भ्रमणको क्रममा बार्सिलोनामा रहेका नेपालीहरुसँग अन्तरक्रिया गरिसकेका छन्। अन्तरक्रिया मात्र हैन स्पेनबासी नेपाली समुदायले दूतावास नहुँदा झेल्नु पर्ने समस्याको लामै टिपोट गरेर उनी नेपाल फर्केका थिए। बार्सिलोनामा सम्पन्न गैर आवासीय नेपाली संघको सातौँ युरोपियन क्षेत्रीय बैठकमा डा. महतले भाग लिएका थिए। सोही सम्मेलनले नै स्पेनमा नेपाली दूतावास स्थापनाको आबश्यकता ठान्दै सरकारसँग जोडदार माग राख्दै घोषणापत्र समेत जारी गरेको थियो।
यो बारेमा हाल परराष्ट्रमन्त्रीको जिम्मेबारी सम्हालेका डा.महत राम्रोसँग जानकार छन्। गत अक्टोबरमा समेत स्पेनबासी नेपालीहरुले दूतावासको आबश्यकता सहित मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र थमाएका हुन्। तर अहिलेसम्म पनि परराष्ट्र मन्त्रालय दूतावास खोल्ने वा नखोल्नेबारे मौन छ। स्पेनमा दूतावास स्थापनाको बारेमा मन्त्रिपरिषदमा छलफल भए नभएको बारे कुनै आधिकारिक जानकारी छैन।
डा. महतले परराष्ट्र मन्त्रालय सम्हाले यता स्पेनबासी नेपालीहरुले दिल्लीमा झनै सास्ती खेप्नु परेको छ। परिवार पुनर्मिलनको क्रममा कागजपत्र बुझाउन पाइने सिता (अपोईन्टमेन्ट) का लागि महिनौँ कुर्नुपर्ने झन्झट आएको छ। यसले गर्दा परिवार ल्याउने प्रक्रियामा पहिलेभन्दा करिव ६ महिना ढिलो हुन पुगेको छ। यसो त नेपालको मेडिकल रिपोर्टलाई अझै पनि दिल्लीको स्पेनिस दूतावासले मान्यता दिने गरेको छैन। यो बारेको रिपोर्ट त डा. महतले स्पेनका नेपालीहरु माझ अन्तरक्रिया कै क्रममा गरेका थिए। तर समस्या हालसम्म हल हुन सकेको छैन।
नेताहरुको असली रुप
आफू सत्ता बाहिर रहँदा जनताका समस्याहरु देख्ने र सुन्ने तर निर्णय गर्ने ठाउँमा पुगेपछि वास्ता नै नगर्ने नेपाली नेताहरुले देखाउँदै आएको असली रुप हो।
प्रधानमन्त्री होस् वा मन्त्रीदेखि, दलका नेताहरुसम्मले बोलेका कुरा पुरा गर्दैनन् भन्ने नमिठो छाप नेपाली जनता माझ परिसकेको छ। भाषणमा भने मिठा-मिठा गफ गर्दै ठूला-ठूला सपना देखाउने तर व्यवहारमा कत्ति पनि लागू गर्न नसक्दा नेताहरुले चर्को आलोचना खेप्नु परेको छ।
चाहे नेपाललाई स्विटजरल्याण्ड बनाउने सपना होस् वा घर-घरमा बिजुली वा घर-घरमा पानीका धारा पुर्याउने सपना किन नहोस् नेताको बोल्ने भाषणमा यी शब्दहरु सामान्य बन्दै गएका छन्। स्वदेशमा यसो भनिरहँदा विदेशमा भने दूतावास शब्द निकै सस्तो बन्यो। नेपालीहरुको बाक्लो बसाई भएको मुलुकहरुमा नेपाली दूतावास स्थापना पहिलो माग भएकाले पनि नेताहरुले यसलाई पनि बोल्ने भाडो बनाउन थाले।
बेला मौकामा युरोप आउँदा स्पेन,पोर्चुगल भित्रिए लगत्तै दूतावासबारे राम्रै चर्चा हुने गर्छ। तर प्रगती भने हालसम्म शून्य नै छ। पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, केपी शर्मा ओलीदेखि हालका परराष्ट्र मन्त्री डा. महतसम्मले स्पेन आएर नेपाली दूतावासबारे बोलेका छन्। आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता सहित नेपाल फर्केका थिए।
डा. महतले स्पेनमा के भनेका थिए ?
विगतमा नेपाली कांग्रेसका नेताका रुपमा स्पेनमा आउँदा डा. महतले स्पेनमा नेपाली दूतावास स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए। एक अन्तरवार्ताको क्रममा डा. महतले  कतिपय मुलुकमा सरकारले विचारै नपुर्‍याई दूतावास खोलेको भन्दै त्यस्ता ठाउँमा बन्द गरेर स्पेनमा नेपाली दूतावास स्थापना गर्नुपर्ने बताएका थिए।
डा. महतले अन्तर्वार्तामा भनेका थिए, ‘दक्षिण अफ्रिका, ब्राजिल जस्ता मुलुकमा दूतावासको आवश्यकता नै छैन त्यस्तो ठाउँमा बन्द गरेर यहाँ स्थापना गर्नुपर्छ।’
उनै डा. महतले परराष्ट्र मन्त्रालय सम्हालेका छन् तर आफ्नै बोलीलाई ब्यवहारमा लागू गर्न भने सकेका छैनन्।

Post a Comment

Powered by Blogger.