Halloween party ideas 2015


गीतकार डा. भिष्मकुमार भुषालले लेखेका देशप्रेमका गीतहरु चर्चित छन् । उनी पूननिर्माण प्राधिकरणको उप-सचिव समेत हुन् । ‘पूननिर्माणमा जुटौ, अब जाग उठ तिमी’का साथमा भ्रष्टचार सम्बन्धी गीतहरुमा कलम चलाएका भुषालसँग अनलाइनखबरले यसैको सेरोफेरोमा रहेर कुराकानी गरेको छः
तपाई देशका कुरा गर्ने गीत मात्र लेख्नुहुन्छ ? माया-प्रेमका गीतमा मन नगएर हो ?
प्रेमका कथा, पि्रतीका कुराहरु धेरै लेखिएका छन् । यो देशमा धेरै परिवर्तनका लागि आन्दोलन भएका छन् । शासनको आन्दोलन नहुँदासम्म कुनै पनि राजनीति वादहरुले देशलाई प्रगतीको पथमा लैजाने देखिएको छैन । अब, सुशासनको लागि आन्दोलन गर्नुपर्छ । यसैले, यस्ता बिषयको जागरुकताका सशक्त माध्यम भनेको गीतसंगीत नै हो । यसैले मलाई यस्ता शैलीका गीतहरु कोर्न मन लाग्छ ।
तपाइले लेखेको पूननिर्माणको गीतले पूननिर्माणमा केहि परिवर्तन गर्‍यो जस्तो लाग्छ या लाग्दैन ?
मैले यो गीत ‘धुर्मुस-सुन्तली’ले सामुहिक बस्ती निर्माण गर्ने क्रममा सबैलाई प्रेरण मिलोस् भनेर रचना गरेको थिएँ । अहिले, सिन्धुपाल्चोक जिल्लामा सामुहिक बस्तीहरु पनि बन्न थालेका छन् । मलाई लाग्छ, जनतामा जागरण देखिएको छ ।
पक्कै पनि हो, सरकारी ढुकुटी पाएसम्म त्यसलाई प्रयोग गर्न पाए हुन्थ्यो भन्ने तप्का देखिएको छ । तर, अर्को तप्का पनि छ, जसले सरकारको मात्र मुख ताक्नु हुँदैन भनेर सोचिरहेको छ । मेरो गीतले तत्काल प्रभाव नदेखिएपनि भित्र-भित्र धेरै मानिसहरुमा जागरण ल्याउने काम गरेको छ । कतिपय मानिसहरुले मलाई भेट्दा गीतले छोयो भन्नु भएकोछ । यो सुन्दा, मलाई मेरो गीतले मानिसलाई प्रभाव पारेको छ कि भन्ने लाग्छ ।
यस्ता गीतहरु तपाई कतिबेला कोर्नुहुन्छ ?
अरु समयमा त्यती सोच्ने फुर्सद त पाउँदिन । तर, दिमागमा सधै नै एउटा मिसन भने नाचिरहेको हुन्छ । ड्राइभ गर्ने समयमा मेरो दिमागमा धेरै कुरा फुर्छन् । धेरै साहित्यहरु यस्तै समयमा जन्मिएका हुन्छन् ।
तपाई गीत किन लेख्नुहुन्छ ?
गीतमा प्राय मानिसको मनमा उब्जिएका उकुसमुकुस पोखिने गर्छन् । मन मित्रका उकुसमुकुस भएका कुराहरुलाई नयाँ जागरण, नयाँ सोचमा बदल्न मन लाग्छ, अनि गीत कोर्छु ।
तपाई त सरकारी कर्मचारी पनि, यस्ता गीतहरु लेख्दा अप्ठ्यारो परेको छैन ?
मेरा गीत सुनेर वा हेरेर कोहि मानिस भित्र भित्र जल्छ भन्ने सोच्न थालियो भने गीत लेख्न सकिदैन । किन कर्मचारी भएर यस्तो गीत लेखेको भन्नेहरु पनि छन् । पछाडिबाट त खेदो गर्नेहरु त हुन्छन् नै । तर, म कसैको कमेन्टबाट आत्तिन्नँ । मेरा गीतहरुमा सुशासनका कुराहरु हुन्छन् ।
गीत निकाल्न, भिडियो बनाउन कत्ति गाह्रो रहेछ ?
मैले ‘वाचा गर्छु’ भन्ने गीत निकाले । मैले त्यो गीत निकाल्नका लागि ५ महिनाको तलब खर्च गरेको छु । ५ महिनाको तलब काटेर गीत निकाल्दा, मैले कति गाँसहरु काँटे होला, तपाई आफै अड्कल काट्न सक्नुहुन्छ । मेरा सन्तानले नयाँ कपडा जोड्न पाएनन् होला । व्यक्तिग खर्चमा एउटा सरकारी कर्मचारीलाई गीत र भिडियो बनाउन गाह्रो छ । स्वच्छ छवि भएका सरकारी कर्मचारीलाई गीत बनाउन गाह्रो छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
मेरो सबैलाई एउटै मात्र अनुरोध छ, कर्मचारी र नेतालाई मात्र गाली गरेर देश बन्दैन । कुनै पुर्खाहरुले यो देशको सिमा विकास गरे, हाम्रो पुस्ता नव-निर्माण गर्ने पुस्ता भनेर चिनिनु आवश्यक छ । गरिब देशको जतिसुकै महान् मान्छे भएपनि उसलाई कसैले माया गर्दैन । पहिला देश बनाउ, अनि परिवार बनाउ भन्ने मेरो अनुरोध छ । पूननिर्माणलाई अगाडि बढाउन सबैको हातेमालो आवश्यक छ । राज्यकोष दोहन गर्ने प्रवृत्ती हटाएर देश बनेमात्र व्यक्ति बन्ने हो ।

Post a Comment

Powered by Blogger.